विराटनगर । माेरङकाे सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा द्वन्द्वकालीन चार वटा सिलिन्डर बम फेला परेको छ । सडकमा गाडिएको अवस्थामा फेला परेका बमहरू नष्ट गर्ने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार बिहान ८ बजेदेखि यातायात रोकेर गरिएको खोजीका क्रममा जमिनमुनि गाडिएको अवस्थामा तारसहितका बमहरू फेला परेका हुन् ।
राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा बम पड्किन सक्ने जोखिम रहेको सूचना जिल्ला प्रशासन कार्यालय मोरङमा प्राप्त भएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो । नेपाली सेनाको टोलीले बम नष्ट गर्ने तयारी गरिरहेको डिएसपी जोशीले बताए ।