विराटनगर । इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो।
एसोसिएसनका केन्द्रीय महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर जस्तो सामाजिक प्रतिष्ठा बोकेको पेसामा 'ज्यालादारी' हैसियतमा विज्ञापन निकालिएको भन्दै विरोध गरेका छन्। उनले इन्जिनियर उपाधिको उपहास हुने गरी जारी गरिएको विज्ञापन तत्काल सच्याउन माग गरेका छन्।
यसैबीच, एसोसिएसनका कोसी प्रदेश सभापति जगरनाथ शाह र सचिव सञ्जय कुमार झाले पनि विरोध जनाएका छन्। उनीहरूले इन्जिनियरको पद सातौँ तहदेखि सुरु हुनुपर्नेमा छैटौँको विज्ञापन खुलाइएकोमा आपत्ति जनाउँदै ऐनले नै सातौँ तह निर्धारण गरेको बताएका छन्। एसोसिएसनले जारी गरेको विज्ञप्तिमा सरकारी निकायबाटै समग्र नेपाली इन्जिनियर समुदाय अपमानित हुने गरी विज्ञापन निकालिएको उल्लेख गर्दै यसको प्रतिरोध गर्नुपर्ने बताइएको छ।