माघे संक्रान्ति : धार्मिक–वैज्ञानिक महत्व बोकेको तरुल–लड्डु पर्व

<span class='c1'>माघे संक्रान्ति : धार्मिक–वैज्ञानिक</span> <span class='c2'>महत्व बोकेको तरुल–लड्डु पर्व</span>

इशु पन्त
विराटनगर । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघीे नामले चिनिने नेपालको एक प्रमुख चाड मानिन्छ । ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहि दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यद्यपी माघे संक्रान्ति भन्दा २३ दिन अगाडी नै पुस ७ गतेलाई दिन लम्बिन र रात छोट्टिने दिनको रुपमा मानिन्छ ।
माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजा गरेर शुभारम्भ गरिन्छ । यो दिन घ्यू, चाकु, तिलको लड्डु र तरुल खाने प्रचलन रहेको छ ।

यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, माई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरेर घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने विश्वास छ । दान गरेका पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन्। महिमा सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घ्यू, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घ्यू, चाकु र तील तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने, भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

वैज्ञानिक हिसाबले पनि सख्खरमा विभिन्न खनिज तत्व म्याग्नेसियम, आइरन र पोटासियम भएको हुनाले शरीरलाई न्यानो राख्ने, फुर्तिलो पार्ने र स्वस्थकर हुने विराटनगर महानगरपालिका नर्सिङ अधिकृत तथा पोषण फोकल पर्सन टिना यादव बताउँछिन् । चिनी भन्दा सख्खर खाँदा बढी स्वास्थ्यकर हुनाले यसको प्रयोगले बढी फाइदा पुर्याउने यादव बताउँछिन् ।

त्यसैगरी माघेसंक्रान्तिमा खाइने तीलको लड्डु, चाकु, सख्खर, घ्यू सुठूनी, तरुल, खिचडी निकै नै स्वास्थ्यकर हुने गर्दछ । यादवको अनुसार दुधमा भन्दा बढी क्याल्शियम तीलमा पाउँछ। तरुल, पिँडालु, सखरखण्ड र सुठुनिमा भिटामिन–ई , स्टार्ज, फाइवर र राम्रो फाइबरको हिस्सा भएको हुनाले स्वास्थ्यमा लाभ पुर्याउने यादव बताउँछिन् । माघे सङ्क्रान्तिमा खाइने खिचडीमा पनि पोषण तत्व बढी हुन्छ। एउटा मात्रै अन्नले सबै पोषण परिपूर्ति गर्दैन । माघे सङ्क्रान्तिमा खाइने खिचडीमा दाल, भात र घ्यूको मिश्रणले झन् पोषण तत्व बढी हुन्छ।

माघेसंक्रान्तिको परिकार जुनै पनि उमेर समुहले खान मिल्छ। तर बढी मात्रामा नखान यादव सुझाब दिन्छिन् । बजारमा पाइने चाकु र लड्डुमा बढी केमिकल भएको हुनाले घरमा नै माघेसंक्रान्तिका परिकार बनाएर खानु स्वास्थ्यर भएको यादवको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्