देवराज तामाङ
विराटनगर। विराटनगरबाट लामो तथा छोटो दुरीमा विद्युतीय सवारी सेवा विस्तार हुँदै गएको छ । तर सेवा विस्तारसँगै चालकहरूले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । हाल विराटनगर बसपार्कबाट दैनिक ४५० भन्दा बढी सवारी छुट्ने गरेकोमा विद्युतीय सवारी भने जम्मा २० वटा मात्र रहेका छन् ।
विराटनगर बसपार्कबाट लामो दुरीमा काठमाडौं, बर्दिबास, लहान र सिराहासम्म, छोटो दुरीमा धरान, हिले र भोजपुरसम्म तथा पूर्वमा बेलबारी, दमक, काँकडभिट्टा र इलामसम्म विद्युतीय सवारी सञ्चालनमा छन् । विराटनगरदेखी काठमाडौंका लागि तीन वटा विद्युतीय गाडी कुद्छन्, जसको भाडा १५०० रुपैयाँ रहेको छ । विराटनगर–सिरहा रुटका चालक नरेन्द्र यादवका अनुसार विराटनगरदेखि इटहरीसम्म १००, भारदह–कोशी ब्यारेज २००, भन्टाबारी २५०, लाहान ३५० र सिराहासम्म ४५० रुपैयाँ भाडादर रहेको छ । बस र विद्युतीय गाडीको भाडादर समान छ ।
विराटनगर–काँकडभिट्टा रुटमा यात्रु सेवा सञ्चालन गर्ने चालक अर्जुन राईले भाडादरमा एकरुपता नभएको गुनासो गरे । उनका अनुसार इटहरी–दमक रुटमा कोही १५० र कोही १००–१२० रुपैयाँमा यात्रु ओसार्ने गरेका छन् । १४ सिट क्षमताको गाडीमा भाडादर फरक–फरक हुँदा समस्या भएको उनले बताए । चालकले विराटनगर महानगरपालिकालाई दैनिक १०० र अन्य पालिकाहरूलाई ५० रुपैयाँ कर तिर्नुका साथै यात्रु खोजेर ल्याउनेलाई १५० रुपैयाँ दिनुपर्ने बाध्यता छ ।
प्राविधिक चुनौती पनि उत्तिकै छन् । एकपटक फुल चार्ज गर्दा ६०० रुपैयाँ लाग्छ । स्पोर्ट्स मोडमा विराटनगर(काँकडभिट्टा यात्रामा ६५(७० प्रतिशत र इको मोडमा ५० प्रतिशत ब्याट्री खपत हुन्छ । विराटनगर बसपार्कमा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एकैपटक तीन वटा सवारी चार्ज गर्न सकिन्छ । एक घण्टामा एउटा गाडी चार्ज हुन्छ । प्रायस् स्थानमा चार्जिङ स्टेसन नहुँदा र भएका ठाउँमा पनि धेरै गाडी हुँदा चार्ज गर्न समय लाग्ने गरेको छ । निजी चार्जिङ स्टेसनमा चार्ज गर्दा बढी पैसा लाग्ने चालकहरुको गुनासो छ। चिन्ताको अर्को विषय ब्याट्री ग्यारेन्टी हो । पहिले ५ वर्ष र ५ लाख किलोमिटरको ग्यारेन्टी दिइने गरेकोमा अहिले ३ वर्ष र ३ लाख किलोमिटरमा सीमित गरिएको छ । ११ सिटको गाडीको मूल्य ५७ लाखदेखि र २० सिटको गाडीको मूल्य करिब ८० लाख रहेको छ । गाडीको उच्च मूल्यका कारण लगानी उठाउन गाह्रो परेको चालकहरू बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणले देशभर सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनहरू पूर्ण स्वचालित छन् । प्राधिकरणको एनईए एप डाउनलोड गरेर चार्ज गर्ने र शुल्क बुझाउने सुविधा दिइए पनि सबै चालकलाई एप चलाउन नआउने समस्या छ । सरकारले विद्युतीय गाडी खरिदमा कर कम गरे केही राहत पुग्ने चालकहरूको भनाइ छ । विराटनगरको चार्जिङ स्टेसनमा एकसाथ तीन सवारी चार्ज हुने सुविधा छ । प्राधिकरणले पिक समय (साँझ ५ बजदेखि राती ११
बजे) लाई प्रतियूनिट १० रुपिँया ४४ पैसा र अफ पिक समय (राती ११ बजेदेखि बिहान ५ बजेसम्म) ६ रुपिँया ०६ पैसा, बिहान ५ बजदेखि साँझ ५ बजेसम्म ८ रुपिँया २८ पैसा चार्जिङ शुल्क तोकेको छ ।