विराटनगर । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ ।
गोल्डकपको आठौं संस्करण २०८० चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको थियो । उक्त गोल्डकपमा २२ लाख ६२ हजार रूपैयाँभन्दा बढी घाटा भएको विवरण सार्वजनिक गरिएको हो ।
ट्रष्टले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ नदिँदा गोल्डकप नोक्सानीमा गएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताउनुभयो ।
प्रतियोगितामा ८२ लाख ६० हजार ८३५ रूपैयाँ आम्दानी भएको थियो । कूल खर्च १ करोड ५ लाख २३ हजार ६४३ रूपैयाँ भएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २२ लाख ६२ हजार ८०८ कूल नोक्सान भयो ।’ प्रदेश सरकारले विराट गोल्डकपसँगै झापा गोल्डकप, बुढासुब्बा गोल्डकप र इटहरी गोल्डकपलाई समेत रकम दिन नसक्दा गोल्डकप आयोजकहरु समस्यामा परेका छन् । विराट गोल्डकप आयोजक ट्रष्टका पदाधिकारीले अझै पनि बजारमा १० लाख रुपैयाँ बढी तिर्न बाँकी रहेको बताउँछन् ।
गोल्डकपका लागि आयोजक ट्रष्टले १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको थियो । गोल्डकप घाटाका बाबजुत पनि ट्रष्टले नवौं संस्करण आगामी फागुन २२ गतेदेखि गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) ले विराट गोल्डकपका लागि फागुन २२ गतेदेखि समय तालिका दिएको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिनुभयो ।