इन्दु साह
विराटनगर । विराटनगरमा लियो जिल्ला परिषद ३२५ सी ले विश्व क्यान्सर दिवस २०२४ को अवसरमा आगामी माघ २२ गते (फेब्रुवरी ४) मा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ।
नोबेल मेडिकल कलेजको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा दुई हजार भन्दा बढी युवाहरुको सहभागिता रहने अनुमान गरिएको छ।
कार्यक्रममा नोबेल मेडिकल कलेजदेखि विराटनगरको सहिद मैदानसम्म ७ किलोमिटरको सचेतना दौड आयोजना हुनेछ। प्रतियोगितामा विजयी हुने महिला तथा पुरुष धावकहरुलाई क्रमशः प्रथम स्थान प्राप्त गर्नेलाई ३० हजार,द्वितीय स्थान प्राप्त गर्नेलाई १५ हजार र तृतीय स्थान प्राप्त गर्नेलाई १० हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
लियो जिल्ला परिषदका अध्यक्ष शिव शंकर मण्डलका अनुसार कार्यक्रममा शान्ति र्याली, स्लो साइकल रेस प्रतियोगिता र क्यान्सर पीडितको सम्झनामा दीप प्रज्वलन कार्यक्रम पनि समावेश गरिएको छ। साथै साता व्यापी रुपमा विभिन्न शैक्षिक संस्था र समुदायमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमहरु संचालन गरिने छन्।
लायन्स क्लब अन्तर्राष्ट्रियको युवा परियोजनाको रुपमा स्थापित लियो जिल्ला परिषद ३२५ सी ले १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई सामाजिक सेवामा संलग्न गराउँदै आएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै यस विरुद्धको अभियानलाई समाजका सबै तहमा पुर्याउनु रहेको छ ।