हा ए – बनारस

<span class='c1'>हा ए</span> <span class='c2'>– बनारस</span>

-कृष्ण दास
काशी भन्नुस या बनारस या वाराणसी सबै ठिक छ, सबै सन्तुष्ट छन् यो नामबाट किनभने यहा बस्ने मान्छे सबै सन्तुष्ट छन् । तर यो ठाउँको बारेमा उहाँ अर्थात महादेवलाई नसम्झी लेख्न चाहान्न त्यसैले आउनुस म संगै भन्नुस “ओम् नमःमाता पार्वती पताये हर हर महादेव !” जहाँ महादेवको नाम लिनु अगाडी माता पार्वतीको नाम लिने गरिन्छ त्यो सहर हो बनारस । मेरो मन आत्मा त्यहाँ बस्छ त्यसैले म बेला बेला माथिको सबै नामले त्यो ठाउँलाई सम्बोधन गर्छु । बनारसको बारेमा सबैतिर सबैले आफ्नो आफ्नो गक्ष अनुसार लेखेका भनेका छन् । मैले लेख्नु पर्ने किन भयो भन्नु हुन्छ भने कुरा यस्तो छ, काशीको बारेमा मैले मुखले भेटे जति सबैलाई भन्दा भन्दा पनि मेरो मनबाट यसको रस उत्रेको छैन । बनारसको रसलाई मैले लेखेर थोरै भएपनि आफुलाई खालि गर्छु भनेर मैले आज त्यो ठाउँको बारेमा लेख्ने आट गर्दैछु जुन ठाउँलाई देवा दि देव महादेवले स्वयम् आफ्नो त्रिशुलमा ठडाएर बनाउनु भएको छ । काशी वासी भन्छन “ये शेहेर महादेव कि त्रिसुल के नोक पे खडा हे” । बनारसको बारेमा मलाई खासै जानकारी छैन , जम्मा २ पल्ट पुगेको छु अब म पुगेको हो कि मलाई बोलाईएको हो। यसको बारेमा अगाडी मज्जाले चर्चा गरौला ल? त्यहि जम्मा २ पल्ट को अनुभव साझा गर्न लाई मैले यो लेख लेख्दैछु ।

संसार कै सबै भन्दा प्राचिन सहर मध्ये एक हो बनारस I Ancient cities of the World मा बस्ने हरेक मान्छे भित्र बनारस बस्छ त्यसैले बनारस एक व्यक्ति हो भन्दा फरक नपर्ला किनभने जब जब बनारसबाट कोहि खाट्टी बनारसी बाहिर कतै जान्छन उनीहरुले पुरा बनारसलाई आफु संग बोकेर जान्छन । त्यस्तै सन्तुष्ट मन, त्यहि अकड़ , त्यहि अन्दाज, त्यस्तै गफाडी ,त्यस्तै चिया अम्मली हेर्दै भनौ भनौ लाग्छ, वाह ! जियो गुरु !

मैले गुरु किन भन्दैछु भने बनारसमा एउटा भनाई छ ‘बनारस मे सब गुरु, केहू नाही चेला’ अर्थात यहाँ सबैजना एक अर्काको गुरु हुन् , यहाँ सबैले सबैलाई गुरु भन्छन किन हो मलाई पनि थाहा छैन हौ गुरु! गुरु हरुको ठाउँ नै हो बनारस , बर्षौदेखि मान्छेहरु संसारभरिबाट पढ्न सिक्न यहाँ आउछन् । तपाईले काशी हिन्दु विश्वविद्यालयको नाम सुन्नु भएकै होला हैन? छैन भने पख्नुस हत्तार नगर्नुमा सुनाउछु विस्तारमा , यो ठाउँको बारेमा विस्तारमै भन्नु पर्छ जस्तो लाग्छ किन भने यो ठाउँ विशाल छ । करिब करिब ४५००० विद्यार्थी पढ्ने ठाउँ , घुम्न पनि लगभग एकदिन लाग्छI एउटा छुट्टै लेख लेखौला कुनै दिन । अहिलेलाई आउनुस म तपाईलाई मैले देखेको बनारस घुमाउछु ।

तपाई कुनै दिन बनारस जानु भयो भने , हैन यस्तो भयो भन्ने कुरै नगरम तपाई बनारस जानुस कहिले मिल्छ अनि सुन्नु म तपाईलाई बनारस गए पछी के गर्दा पुण्य हुन्छ है भन्ने कुरा त भन्न सक्दिन तर के गर्नु भएन भने पाप लाग्छ भन्ने कुरा भन्छु ल । काशीबाट गंगा जल ल्याउने काम नगर्नु होला । कुनै पनि जीवजन्तु, प्राणीलाई जन्मौ जन्ममा एकपल्ट काशी को शरण मा जाने मौका मिल्छ । काशीमा मोक्ष पाउने वरदान मिल्छ र काशी मा बग्ने गंगामा त्यस्ता हजारौ जीवहरुको वास छ अनि हामी मान्छेलाई उनीहरुबाट काशी खोस्ने केहि अधिकार छैन I कोहि पनि प्राणीबाट काशी खोस्ने अधिकार कसैलाई छैन । यो त अलिक सिरियस कुरा भयो कि अब साच्चै पाप लाग्ने कुरा सुन्नुस काशी गएर काशी वासी को गालि सुन्नु भएन भने पाप लाग्छ, उनीहरु क्या मिठ्ठो गरि गालि गर्छन यार ! यिसकी मा का.. यसरी पढेर मज्जा आउदैन गएर सुन्ने पर्छ क्या ।

भनिन्छ बनारसमा एउटा यस्तै सभा सम्मेलन हुने गर्थ्यो जहा बडे बडे एस.पी., कलेक्टर (त्यहाँ का सी.डी.ओ.) हरु त्यो सम्मेलन को अगाडी बसेर खुब मज्जासंग गाली सुन्थे । त्यस सभामा गाली सुन्नु भनेको आफुलाई त्यस्तो भिडमा पनि सम्मान गरे सरह हुन्थ्यो जसरि अहिले हाम्रो देश मा प्राय भाषण दिने बेला मा “म यहाँ स्टेज बाट फलानालाई पनि देखिरहेको छु” भन्दै गफ दिन्छन नि पछि आफ्नो काम फत्ते गराउन लाई हो त्यसैगरि त्यहाँ चाही भिडको मान्छेहरुले मलाई पनि कुनै कवि, कलाकार ले गाली दिए हुने नि भनेर एक तमासले स्टेज तिर हेरेर बस्थे अरे । यस्तो समारोह हरु अहिले हुन्छ हुदैन थाहा भएन तर मैले त्यहाको मान्छे ले गर्ने गालि हरु सुनेको छु बहुत मज्जा आउछ । अर्को पाप बाट जोगिने कुरा भन्छु ल ? बनारस गएर बनारसी पान खानु भएन भने तपाईलाई पान को पाप लाग्न सक्छ I मिठा पान खानु दामी हुन्छ । पाप बोक्नु भन्दा बरु काशी गको बेला “हौ चा चा पान बनायिये हो बढिया से “ भन्नु भयो भने तपाइको जिब्रो ले मोक्ष पाउछ । खास मा ‘बकचोद’ हरुको सहर भन्दा हुन्छ बनारस लाई त्यो शब्द को अर्थ बुझ्नु भएन भने म भन्छु बिना मतलब को कुरा अनि फाल्तु को कुरा गर्ने मान्छे लाई ‘बकचोद’ भनिन्छ । यस्तो मिठो पानको कुरा गर्दै थिए काहाँ तपाईलाई शब्द अर्थ भन्ने थालेछु फेरी । एउटा सानो बकचोदी सुन्नु न त अब एकपल्ट के भएछ भने बनारस कै एउटा चोकमा सी सी टि भी क्यामेरा लगाउने निर्यण भएछ अनि क्यामेरा लागेछ पनि । एकदिन एका बिहानै त्यही क्यामेरा लागेको चोक को थाना मा फोन आएछ अनि फोन गर्ने ले सोधेछ

फोन गर्ने मान्छे : “तपाईको त्यो क्यामेरा ले पुरै चोक कभर गर्छ”?
पुलिस : अ गर्छ किन ? को बोलेको ?
फोन गर्ने मान्छे : म यहि नजिकै बाट बोलेको एउटा कुरा सोध्नु थियो
पुलिस : के कुरा भन्नुस ?
फोन गर्ने मान्छे : तपाईको क्यामेरा ले पर त्यो नास्ता दोकान सम्म देखाउछ?
पुलिस : हजुर देखाऊछ किन ?
फोन गर्ने मान्छे: ठिक छ , त्यसो भए हेर्नु त त्यो दोकान मा जेरी पाकिसक्यो कि छैन ? छ भने मा घर बाट हिड्छु ।

यस्तो धेरै कथा काहानी काशीमा दिनहु जसो घट्छ । मैले काशी जाने भनेर ट्रेन चढे पछी ओर्लिएको पहिलो ठाउँ हो पण्डित दिन दयाल उपाध्याय ट्रेन जन्क्सन । तपाईले पनि त्यस्तै गर्नु पर्छ भन्ने केहि नियम छैन । कसै गरि बस काशी पुग्नुस I त्यसपछि कहिँ कतै झोला बिसाउनुको सट्टा सिधै अस्सी घाट जानुस, सारा थकान थोरै भएपनि कम हुन्छ अनि त्यहि गंगा किनार मा बसेर अब म आज कहा बस्ने होला सोच्नुस । अनि गंगा को पानि लाई हात ले उठाउनुस र म संगै भन्नुस “गंगा मैया कि जय ! “ । काशी मा सके सम्म पैदल हिड्ने कोशिस गर्नु होला , बनारसको गल्लिहरुमा अर्कै उर्जा, उत्सव, मज्जा पाउनु हुनेछ । नत्र मैले जसरि सिटि सफारी/इ.रिक्सा चढ्नु भए पनि हुन्छ तर रिक्सा मा बसेर “भाइ जी रिक्सा थोडा आराम से चलाईए’ भन्नु भयो भने जवाफ मा रिक्सा वाला दाइको यस्तो ड़ाईलग भेट्नु हुन्छ “भाइ साब बनारस मे गाडी हम नही चलाते यहा स्वयंम महादेव खुद सब कुछ चलाते हे “ । यो डाईलाग मैले सुरु पल्ट बनारस जादा भेटेको थिए । घाटहरुको सहर हो बनारस । अस्सी, मनिकर्निका , तुलशी दास , दसास्वमेत , हरिस्चन्द्र समेत यहा ८० भन्दा बढी घाट हरु छन् । जसमा सबैको आफ्नै महत्व छ । मलाई सबै भन्दा बढी आकर्षित गर्ने घाट मणिकर्णिका हो , जहा दिनको २४ सै घण्टा र वर्ष को ३६५ दिन क्रमस लास जलिरहन्छ ।

यो दृश्य हेर्न मान्छे कहाँ कहाँबाट आउछन । जीवनलाई बुझ्न यहा आए पुग्छ । रिस,इर्स्या ,लोभ, झैँ झगडा , जित , हार , धनि , गरिब , सानो , ठुलो , सबैकुरा को अर्थ सुन्य हुन्छ तपाइँ त्यहाँ केहि बेर बस्नु भयो भने । म अहिले यो लेख्दा पनि त्यो पल सम्झिरहेको छु जब मैले पहिलो पल्ट त्यतिका धेरै लास एकैपल्ट जलिरहेको देखेको थिए, क्या नजारा थियो , कसरि त्यहाँ को मान्छे हरुलाई एउटा उत्सव जसरि मृत्युलाई मनाइरहेका थिए । मृत्यु होस् त काशी मा गएर होस् जस्तै भयो मलाई त्यो बेला मा । पहिला पहिला भनेको सुन्थे मोक्ष पाउन काशी जानु भन्थे ,त्यहाँ मृत्यु लाई यसरि उत्सव जसरि मनाएको देख्दा हो रहेछ भन्ने लाग्यो । चार जना ले लास लाइ बोकेर पिंग खेलाए जसरी हल्लाई रहेको देख्दा मा सार्है छक्क परे , घरि लासको अगाडी बसेर फोटो खिचेको छ, घरि पटेका पड्काएर उत्सव जसरि मनाएको छ, कसैको आखा मा आसु छैन ।

अब उनीहरुको मनको पिडा भगवान जाने के छ तर मैले आज सम्म यस्तो नजारा कहिँ कतै देखेको थिइन् । बनारस जादा घाट हरु डुल्नुस , गंगा मा नौका बिहार या नि नाउ चढेर रात्रि कालिन गंगा आरति हेर्नुस । घाट हरुको सयर गर्नुस I बनारसी मान्छे संग गफ गर्नुस । मैले यहाँ सबै कुरा भने पनि काशी जे कुरा को लागि सबै भन्दा बढी मान्छे हरु आउछन त्यसको वारेमा अहिले सम्म भनेको छैन तर टेन्सन नलिनुस अब भन्छु है ! मान्छे हरु काशी बाबा काशी बिस्वनाथ को दर्शन गर्न आउछन । संसारको १२ वोटा ज्योतिर्लिंग मध्ये एक हो बाबा काशी बिस्वनाथ । म तपाईलाई यहाँ दर्सन गर्न जानुस भनेर कर गर्दिन किन भने यहा हाम्रो इच्छा ले हैन सिर्फ महादेव को इछ्याले मात्र दर्शन गर्न पाइन्छ । यो भन्नु को मतलब यदि तपाईलाइ महादेव ले हेर्न चाहनु भएको छ भने तपाई जसरि पनि दर्शन गर्न जानु हुन्छ नत्र मैले यस्तो धेरै कहानी सुनेको छु जहा मान्छे काशी त जान्छन तर महादेव को दर्शन गर्न्र नपाइ फर्किन्छन ! सब उनकै लिला हो हेर्नुस ! काशी मा पाइला राख्नु नै धेरै पुण्य को काम हो । किनभने भनिन्छ तपाई काशी गएपछि तपाई काशी बाट निस्किन त सक्नु हुन्छ तर तपाई भित्र बाट काशी निस्किदैन । यो कुरा मलाई पनि होला हौ जस्तो मात्रै लाग्थ्यो तर आज हेर्नुस मेरो मन मा काशी यसरि बस्यो कि म यसको बारेमा नलेखी बस्न सकिन । बनारस सम्झिदा म सम्झिन्छु अस्सी घाट को सुभ –ए –बनारस जहा सधै केहि न केहि उत्सव कार्यक्रम भइरहन्छ । म सम्झिन्छु बनारस को गल्लि हरु जहा बाट मधुर संगीत को धुनहरु, तबला को आवाज हरु आइरहन्छ । सम्झन्छु त्यो बीच रोडमा सान ले बसेको गोरु (बैल) जसलाई उठाउने हिम्मत कसैको नभएर ट्राफिक जाम लागेको छ । सम्झी ल्याउदा म सम्झिन्छु गंगा किनार मा कलेज पढ्ने केटाकेटी हरु साझ पख गितार बोकेर सबैलाई नचाउने गरि गित गाएको । यो लेख्दै गर्दा मनिकर्निका घाटमा थुप्रै लास जलाइरहेका त्यो डोम राजा को रवाफ र अन्दाजमा भनेको लाइन , जसलाई मैले तपाइको नाम के हो भनेर सोध्दा “हमारा नाम डोम राजा हे , हम डोम और राजा दोनो है यहा के” भनेका थिए । बनारस को पान , त्यहाँ बस्ने मान्छे को बिन्दास जीवन , बनारस को गल्लि , गंगा आरती , बि.एच.यु. को साँझ , लंका को चिया , गोधुलिया चोक को चका चौन्धहरु सम्झन्छु मन त्यसै भारि हुन्छ । सोच्छु फेरी कहिले जाने होला । तपाई बनारस जानुस र आफ्नै किसिम ले आनन्द लिएर आउनुस, मेरो कुरा हरु को खासै विश्वास नगर्नुस किन कि म बनारस लाई प्रेम गर्छु अनि एउटा प्रेमी ले तारिफ गर्न पायो भने कति गर्छ आफै बिचार गर्नुस Iतपाइले पनि कसैलाई प्रेम गर्नु भएको छ भने सोच्नुस त तपाइले कति तारिफ गर्नु हुन्छ आफुले प्रेम गरेको मान्छेलाई । जादा जादै अन्त्यमा यत्ति भन्न मन छ कुनै दिन म हराई हालेछु भने मलाई बनारस तिरै खोज्दै आउनु होला म त्यतै कतै हात मा एउटा किताब र चिया बोकेर “हाहाहा भैया जी क्या बात कर रहे हे “ भन्दै कुनै बनारसी संग गंगा किनार मा बसेको पाउनु हुनेछ । अहिलेलाई म जान्छु । अस्तु :
'ओम नमः माता पार्वती पताये हर हर महादेव'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्