पथरी (मोरङ) । यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।
खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताउनुभयो । उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ ।
खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताउनुभयो । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताउनुभयो ।
वडाको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताउनुहुन्छ ।