इशु पन्त
विराटनगर । निलो ट्रयाकसुट, जाडो छल्ने टोपी र सेतो जुत्ता लगाएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्ड अगाडी आईपुग्दा निरोसरी राजबंशी एकछिन् के भनौ र कसो भनौ भइन् । उनी चुल्होमा आगो बालेर भक्का बनाउने सुरसार कसिरहेकी थिइन् । रापिलो आगो बलेको ठाउँमा प्रचण्डसँगै धेरै संख्याको घेरा बढ्दै गएपछि उनलाई अरु कौतुहलता बढ्दै गयो । त्यसैबेला प्रचण्डले ‘जाडो छ है’ भन्दै मुढामा बसेपछि उनको मनको असहजपन हटेर मुसुक्क मुस्कुराएर ‘जाडो नै छ’ भनिन् ।
त्यसपछि उनले मनमा प्रचण्ड विराटनगर आउनु भएको र त्यसको सुरक्षा तयारी भईरहेकोले प्रहरीको उपस्थिति बिहानै देखिएको सम्झिन् । पुष्पलालचौक उत्तरबाट नमूना चौकसम्म मर्निङवाक गर्दै आउनु भएका प्रचण्डले निरोसरी राजबंशीले बनाएको भक्कासँगै थकान मेट्ने ईच्छा राखेका थिए । ‘उहाँ आउनु भएपछि २५ वटा भक्का अर्डर भयो, धमाधम बनाएर दिए’ राजबंशीले भनिन्–मज्जाले खानुभयो र बात मारेर जानुभयो । राजबंशीका अनुसार प्रचण्डको टोलिमा रहेका धेरै संख्या भएपनि भक्का भने २५ वटा अर्डर थियो र त्यसको मूल्य ५०० दिइएको थियो ।
गत शुक्रबार विराटनगरको बासपछि प्रचण्ड शनिबार बिहान मर्निङवाकमा निस्केका थिए । उनको एक रफ्तारको हिँडाईमा सुरक्षा निकायसहित केन्द्रीय नेता र कार्यकर्ता साथ थियो । शहरको अवस्थिति अवलोकन गर्दै हिड्ने क्रममा कुनामा भक्का पकाइरहेकी निरोसरी भएको स्थानमा प्रचण्ड पुगेर गरेको भलाकुसारी उनका लागि कल्पना गर्ने भन्दा बाहिरको हुन पुग्यो ।
भक्का खाएको समाचार टिभी, इन्टरनेट र अखबारमा छाएपछि भने निरोसरीसँग आउने ग्राहकले अहिलेसम्म त्यहि कुरा गरिरहेका छन् । विराटनगर नयाँ बस्तिदेखि नमूना चोकमा निरोसरी मंसिरदेखि बिहान र बेलुका भक्का बेच्दै आएकी छिन् । प्रचण्ड आउने हल्ला चाँहि उनको घरसम्म पनि पुगेको थियो । तर, भक्का बेचिरहेको स्थानमा आउने अनुमान भने थिएन । ‘एक्कासी आइपुग्दा त्यसैपनि छक्क परे, अनि फोटोमा मात्रै देख्न पाएको थिएँ आफ्नैमा आएर भक्का खाएपछि प्रत्यक्ष भेट्ने मात्रै नभई गफ गर्ने अवसर पनि पाएँ’ निरोसरीले भनिन्–कागजमा भक्का समाएर धमाधम खानु भएपछि खुशी भएको छु । उनले साधारण मान्छे झैं टुसुक्क बसेर भक्का खादैं बैनी भन्दै बोल्न थालेपछि आफ्नो सामुन्ने दाई आउनु भएको जस्तो लागेको सुनाइन् ।
प्रचण्ड आएर भक्का खाएपछि उनको मन त्यसपछि धेरै कुरा खेलिरहेको छ । त्यसको कारण हो, धेरैले आफूलाई टिभीमा हेरेको, फोटोमा समेत देखेको भनेर प्रचण्डले भक्का खाएको ठाउँ भन्न थालेको उनले सुनाइन् । अहिले धेरैजनाले अस्ति प्रचण्डलाई भक्का खुवाउने दिदी हैन भनेर समेत सोध्ने गरेको उनको भनाई छ । ‘जे होस् हामी सामान्य मान्छेसँग प्रचण्डले गर्नु भएको गफ कहिल्यै बिर्सन नसक्ने रहेछु’ निरोसरीले भनिन्–हामीलाई के बोल्न न कसो बोल्नु हुन्थ्यो होला तर उहाँले अरुको कुरा नसुनि मसँग मात्रै बोलिरहनु भयो । बोल्दा पनि आफ्नै लाग्ने जस्तो गरेर कुरा गरेको निरोसरी बताउँछिन् । उनले मौका मिले फेरी पनि प्रचण्डसँग भेट्ने ईच्छा रहेको सुनाइन् । भनिन्–अब फेरी एक पटक भेट्न मन लागेको छ, किनकी उहाँले बैनी भनेपछि मलाई उहाँ दाजु सरह लागेको छ ।