विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम पूर्व निर्धारित मिति माघ ११ बाट सारिएको हो।
'ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट' थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको छ ।
युवा उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । एक्स्पोमा उद्यम तथा व्यवसायका लागि सेन्टर फर एक्सेलेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधि शोकेस, प्राविधिक तालिम तथा करियर काउन्सेलिङ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । यस्तै, स्टार्टअप हाकाथन, थिमेटिक कन्फरेन्स, फेशन शो, उद्यमशीलता माइन्डसेट सम्बन्धी कार्यशाला, लाटे आर्ट प्रतियोगिता र दैनिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ ।
समुद्घाटन पछि माघ २० गतेसम्म निर्धारित सबै कार्यक्रमहरू यथावत रूपमा सञ्चालन हुने एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिए । समुद्घाटन मिति परिवर्तनबाट प्रायोजक, साझेदार र सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको छ।