विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको छ ।
एक अर्ब मूल्य पर्ने यो मेशिन नेपालमा नोबेलले पहिलो पटक भित्र्याएको हो । एशियामा यो मेशिन नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले नयाँ मेशिन भित्र्याएसँगै ३ अर्ब ४० करोड लागतमा क्यान्सर विभागको संरचना पूर्ण भएको हो ।
अत्याधुनिक उपकरण भित्र्याएपनि क्यान्सर उपचार सेवा थप विशिष्टीकृत बनेको दावी छ । यस्तो किसिमको प्रविधि एसियाको ९ वटा अस्पतालमा मात्रैै उपलब्ध भएको नोबेल मेडिकल कलेजका सञ्चालक एवं सांसद डा. सुनिल शर्माले जानकारी दिएका छन् ।
उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गरेका छौं, सांसद शर्माले भने–अब क्यान्सर रोगीको रेडिएसन थेरापी सेवा सुरु भएको छ । डा. शर्माका अनुसार ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्थासहितको क्यान्सर रोगको उपचार सेवा दिईरहेको जानकारी दिएका छन् ।
उनले दक्षिण एशियाका अस्पताल मध्ये भारतको मुम्बई स्थिति कोकिलाबेन धीरुभाई अम्बानी अस्पताल, म्याक्स अस्पतालमा, नयाँदिल्ली स्थित मेदान्तामा यो प्रविधि रहेको जानकारी दिए । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘एज’ नामक उपकरण नेपालको हकमा पहिलो रहेको दावी छ ।
नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने अनुमान गरिएको छ । उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रिया बिना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले बिना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ ।
यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेलमा क्यान्सर उपचारको लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम। आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।