विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् ।
कोइराला निवास विराटनगरमा बुधबार पत्रकारसँग भेटघाट कार्यक्रममा नेता कोइरालाले संविधान माओवादी, मधेशवादी, राप्रपा र रास्वपा समेतलाई मान्य हुने गरी संशोधन हुने बाहेक संशोधन संभावना नरहने बताए ।
नेपाली कांग्रेस र एमाले मात्रैलाई मान्य भएर हुँदैन, उनले भने माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानु बाहेकको विकल्प छैन । त्यसको सुरुवात काँग्रेस र एमालेले गर्नसक्ने उनको भनाई थियो । दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु दुई दलको गलत मनोविज्ञान भएको उनको भनाई थियो ।