विराटनगर । विराटनगरमा रहेको रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो ४२ औं वार्षिकोत्सव सफलतापूर्वक मनाएको छ।
उक्त अवसरमा बुधबार अस्पतालमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। अस्पतालले ४ दशकमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उक्त अवधिमा करिब २० लाख बिरामीको उपचार गरेको र एक लाख ५० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेको छ। वार्षिक रूपमा ३५०० मोतीबिन्दु शल्यक्रिया निःशुल्क सञ्चालन गर्दै आएको छ।
१९८३ मा दिवंगत रामलाल गोल्छाद्वारा रामलालजी धापिदेवी च्यारिटी ट्रस्टको संरक्षकत्वमा अस्पताल स्थापना भएको र हाल नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान गौशालाको व्यवस्थापनमा सञ्चालित छ। हाल ६ सामुदायिक आँखा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। रेटिना, ग्लुकोमा, कर्निया र बाल रोगका विशेषज्ञ सेवाहरूले आँखा उपचार क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ।
उक्त कार्यक्रमको सभापति दिनेश गोल्छा,प्रमुखअतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरला,राम लाल गोल्छा ,सुरेन्द्र गोल्छा लगायतको उपस्थिति रहेको थियो।
अस्पतालले मोरङ, सुनसरी, झापा,धनकुटा, सङ्खुवासभा, सिराहा,सप्तरीलगायतका क्षेत्रमा अन्धोपन घटाउन र स्थानीय समुदायको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पुर्याएको छ। भविष्यमा प्रविधिको अधिकतम प्रयोग र सामुदायिक पहुँच विस्तारमार्फत आफ्नो सेवालाई अझ प्रभावकारी बनाउने योजना रहेको अस्पतालका प्रबन्धक नविन राजवंशीले बताए।
भविष्यमा प्रविधिको प्रयोग र सामुदायिक पहुँच विस्तारमा थप सुधार गर्ने योजना रहेको अस्पतालका प्रबन्धक राजवंशीले जानकारी दिए। स्थानीय सरकारहरूसँगको बलियो सहकार्यले अस्पतालको प्रभावलाई अझ बढी विस्तार गर्न सक्ने अस्पतालको विश्वास रहेको छ। रामलाल गोल्छा आँखा अस्पताल पूर्वी नेपालको अग्रणी आँखा अस्पतालका रूपमा स्थापित भईसकेको छ।