इनरुवा (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा आज पर्यटन वर्ष २०८२ को तयारी स्वरुप बसेको बैठकमा मुख्यमन्त्री कार्कीले पर्यटकको गन्तव्यबारे चर्चा गर्नुभयो । मूल आयोजक समितिको बैठकले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीमा जुट्ने निणर्य गरेको उहाँले जानकारी दिनुभयो । यसलाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्न बैठक बसेको उहाँले बताउनुभयो ।
बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेश मन्त्री सदानन्द मण्डल, एकराज कार्की, भूपेन्द राई, उच्च पदाधिकारी, सरोकारवाला र पर्यटन क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । बैठकले पर्यटन प्रवर्द्धनका लागि ‘कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१’ अन्तर्गत दिगो योजना निर्माण गर्ने निणर्य गरेको छ ।
फोटो:फाइल