विराटनगर । विराटनगर-४ मा रहेको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने भएका छन् ।
संघीय राजधानी काठमाडौंमा आयोजना हुने ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुन हेरिटेजमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू त्यसतर्फ जाँदै छन्।
उनीहरूलाई शुक्रबार स्कुलका प्रिन्सिपल सुशान्त बानियाँ र शिक्षक-शिक्षिकाहरूले खादा-अभिर लगाएर जितको कामनासहित बिदाइ गरे ।
बिदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल बानियाँले विद्यार्थीहरूलाई नतिजा हार-जित जस्तो भए पनि उच्च मनोबलका साथ सहभागिता जनाउन आग्रह गरे ।
कक्षा ७ का आरोन खतिवडा, कक्षा ७ का प्रज्ञान राठी र कक्षा ८ का इशान्त चाम्लागाई सम्मिलित विद्यालयको बेटा (कक्षा ७ र ८) टोलीले लिगमा सहभागिता जनाउने छ ।
यो टोली स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि राष्ट्रिय राउन्डमा छनोट भएको हो । एम्बार्क अनमाथले आयोजना गरेको राष्ट्रिय राउन्ड अफ म्याथ डिबेट लिगका लागि छनोट भएको विराटनगरको यो एक मात्र टोली हो ।
यो गणित बहस लिग विभिन्न आठ देशमा आयोजना हुँदै छ । यस राष्ट्रिय राउन्डले नेपालबाहिर हुने ग्लोबल म्याथ डिबेट लिगमा देशको प्रतिनिधित्व गर्न नेपालबाट टोली छनोट गर्ने छ ।
चार सयभन्दा बढी विद्यालयहरू र एक हजार टोलीहरूबीच स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि छनोट गरी नेपालभरबाट उत्कृष्ट २० टोलीबीच फाइनल डिबेट राउण्ड माघ १३ आइतबार काठमाडौँमा हुँदै छ ।