विराटनगर । नेपालबाट सीमापार भारत पुगेका पाँच बालबालिका उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको छ ।
कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार राज्यमन्त्री सृजना राईको रोहबरमा उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।
विराटनगर महानगरपालिका बालकल्याण अधिकारीमार्फत उद्धार गरिएका बालबालिका परिवारसँग पुर्नमिलन गराइएको थियो । पाँचैजना बालबालिका विराटनगर महानगरपालिका भित्रका हुन् । दुईजना बालक र ३ जना बालिकालाई शनिबार विराटनगर ल्याइएको थियो । घरबाट हराउनेमध्ये दुईजना एकवर्ष अगाडी र ३ जना गत कात्तिकदेखि परिवारसँगको सम्पर्कमा थिएनन् । ७ वर्षदेखि १७ वर्ष उमेरसम्मका उनीहरुलाई भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभअवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेर विराटनगर ल्याएको हो ।
केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकालाई अभिभावकसँग पुर्नमिलन गराइएको जानकारी दिए । उनका अनुसार भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर ल्याएपछि अभिभावको जिम्मा लगाइएको हो । अभिभावकले लामो समयदेखि आफ्ना सन्तान वेपत्ता भएको भन्दै खोजतलासका लागि आग्रह गर्दै आएका थिए । पाँचै जना बालबालिकालाई भारतको बालकल्याण समितिले उद्धार गरेर कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो । राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोली कटिहार पुगेर उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । विराटनगरबाट भारतको कटिहार १ सय २४ किलोमिटर टाढा पर्छ । हालसम्म ८०० जना भन्दा बढीको उद्धार गरिएको भारतको किन इन्डियाका निर्देशक नविन जोशीले जानकारी दिए । उनले नेपालबाट जतिपनि महिला,बालबालिका तथा बधुवा मजदुरहरुलाई स्वदेश फिर्ता गर्ने काम गर्दै आएको बताए।
विराटनगर-१५ का ५१ वर्षका लक्षमण चौधरीका दुई छोरा २०८१ साल कात्तिक ९ गतेदेखि हराएका थिए। छोरा भेटिने आश थिएन तर भेटिएपछी धेरै खुसी महसुस भएको बताए।