विराटनगर । ‘नो केबलकार’लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका कारण ताप्लेजुङ लगायत पुर्वी जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।
ताप्लेजुङ लगायत पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले आजबाट अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।
मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुँदै मंगलबार बिहान झापा, मोरङ, सुनसरीको धरान जाने पुर्वी पहाडी क्षेत्रमा यातायातका साधनहरू चल्न सकेका छैनन् । ताप्लेजुङ प्रवेश गर्ने सबै नाकाहरू ठप्प रहेको स्थानीय जिल्लाका सञ्चारकर्मीहरुले जानकारी दिएका छन् । जिल्लाको नौ स्थानीय तहमा जाने सवारीका साधनहरू ताप्लेजुङ बसपार्कमै थन्किएका छन्। बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् । झापाको चाराली, बुधबारे, इलामको विभिन्न स्थानहरु, पाँचथरको फिदिम, हेवाखोला, तमोर करिडोरको विभिन्न स्थानमा आन्दोलनकारीहरु रहेका छन् ।
स्थानीय जनता, सरोकारवालाहरुको विरोधको बाबजुद जवरजस्ती गर्ने प्रयास भएपछि मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, समाजिक संस्थाहरु र विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरु विरोध गर्ने क्रममा प्रहरीले गत शनिबार प्रर्दशनकारी माथि गोली प्रहार गरेका थिए । प्रहरीको गोली लागेका तीन जनाको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको छाँती, एक जनाको तिग्रा वारपार हुनेगरी गोली लागेको छ भने अर्को एक जनाको कुमको हड्डी भाँचिएको छ ।
आन्दोलनमा सामाजिक संस्थाहरु किरात थाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहिन्य उत्थान संघ लगायत रहेका छन् । त्यसैगरी राजनीतिक पार्टीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टी, जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपासम्बद्ध किराती मोर्चा, मंगोल नेशनल अर्गनाइजेसन (डीजीजी), पहिचानवादी मोर्चा लगायतका नेता, कार्यकर्ताहरु सडकमा रहेका छन् ।