इन्दु साह
विराटनगर । विराटनगरको न्यूरो अस्पतालले बिहीबार एकैपटक पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमताको अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) को उद्घाटन गरेको छ ।
यो नयाँ थिएटरले शल्यक्रियाको लागि प्रतीक्षा गर्नुपर्ने समय घटाउनुका साथै अस्पतालका साधन स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्याउने अस्पतालले जनाएको छ ।
न्यूरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरो फिजिसियन डा. विरेन्द्र कुमार बिष्टका अनुसार समयसापेक्ष विरामिको उपचारमा सहजीकरण होस् भन्ने उद्देश्यका साथ यो प्रविधि र सेवा सुविधा थपिएको हो । नयाँ मोडुलर अपरेशन थिएटरमा न्यूरो नेभिगेशन स्टिल्थ, कुजा एकसेल, आर्थ्रोस्कोपी, सी–आर्म, इन्डोस्कोपी सर्जरी र मिनिमल इन्भेसिभ सर्जरी लगायतका अत्याधुनिक उपकरणहरू जडान गरिएको छ । साथै अस्पतालले हालै बरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा र डा. सुनील कुमार दासलाई आफ्नो टिममा थप गरेको छ ।
अस्पतालले यसै वर्ष एमआरआई, एआई पावर्ड सिटी स्क्यान, डेक्सा स्क्यान र बिरामीहरूका लागि सुविधासम्पन्न निजी क्याबिनहरूमा पनि ठूलो लगानी गरेको छ । आगामी वर्ष रजत जयन्ती मनाउन लागेको अस्पतालले नयाँ सोच र निरन्तर सुधारतर्फको आफ्नो प्रतिबद्धता अनुरूप यो नयाँ मोडुलर अपरेशन थिएटर सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालमा हाल विभिन्न विधाका २५ भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको टोली कार्यरत रहेको छ । जसमा न्यूरोसर्जन, अर्थोपेडिक सर्जन, जनरल सर्जन, युरो सर्जन लगायत विभिन्न विधाका विशेषज्ञहरू रहेका छन् । साथै बिरामीहरूको शल्यक्रियालाई सहज बनाउन तीन जना पूर्णकालीन एनेस्थेसियोलोजिस्टको सेवा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।