विराटनगर । भारतमा प्रेममा परेकी एक बालिकालाई मावली विराटनगर–५ मा ल्याएर हत्यापछि शव गाडेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहिदिन अगाडी आमासँगै विराटनगर–५ स्थित (माइती\मावली) ल्याएकी बालिकाको शव गाडेको आशंका गर्दै प्रहरीले उत्खनन् सुरु गरेको हो ।
कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूलपूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई सुरक्षित गरेर खन्ने काम गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशीका अनुसार भारतबाट छोरी लिएर आएकी आमा एक्लै फर्किएकी थिइन् । छोरी लिएर माइत आएकी उनी एक्लै फर्किएको सूचना प्रहरीलाई पुगेको थियो ।
घटना बारे प्रहरीेले बुझ्दै जाँदा सादा पोशाकका प्रहरीले मण्डलको तरकारी बारी निरीक्षण गरिएको थियो । त्यस क्रममा केहि आलो माटो देखिएपछि त्यहाँ खन्दा शव गाडेको पाइएको हो ।
प्रहरीका अनुसार बालिकाको हत्या मावली घरमा भएको आशंकामा सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ । आमा र उनका बुबालाई भारतबाट आउन खबर गरिएको छ । प्रहरीले घटनामा आमा र बुबासहितको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
भारतमै बालिका प्रेम सम्बन्धमा परेपछि नेपाल ल्याइएको हो । बालिका १४ वर्ष मात्रै रहेकी र उनको नाम चाँदनी यादव भएको बुझिएको छ । यहाँ मावली घरपनि भएकाले उनलाई सम्झाउने उद्देश्यले लिएर आएपछि परिवारका सबै मिलेर हत्या गरि गाडेको हुनसक्ने आशंका रहेको छ । प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको बताएको छ ।