विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ६७ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
सो सामुदायिक विद्यालयले आफ्नै परिसरमा विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको वार्षिकोत्सवको समुद्घाटन गर्नुभयो । कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक अशोककुमार लुईटेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै पुर्व राष्ट्रपति भण्डारीले जलवायु परिर्वतन विश्व व्यापी समस्याका रुपमा देखिएकाले जलवायु संकटबाट जैविक विविधता र मानव सभ्यतालाई जोगाउन सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनुभयो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्यामकुमार सरदारले शिक्षक,कर्मचारी सहित विद्यार्थी र अभिभावकहरुको सहयोगले विद्यालयले दिनानुदिन प्रगति गर्दै गएको बताउनुभयो ।
कार्यक्रममा पुर्व प्रधानाध्यापकहरु बलराम पोखरेल,गोविन्द भगत र तिलक सापकोटालाई सम्मान गरिएको थियो भने पुर्व विद्यार्थीहरु बरिष्ठ फिजिशियन डा.दिनेश न्यौपाने,भक्तपुरका जिल्ला न्यायाधीश विश्वनाथ भट्टराई,उप प्राध्यापक दुर्गाप्रसाद लुईटेल र बैंकका शाखा प्रबन्धक संजिव चौधरीलाई सम्मान गरिएको छ । यस्तै स्कुल निर्माणका निम्ति १ बिगहा १९ कट्ठा जग्गा दान दिनुहुने स्वर्गीय सरस्वतादेवी निरौलाका पुत्रबधु सावित्रादेवी निरौलालाई समेत सम्मान गरिएको थियो । उहाँहरु सबैजनालाई पुर्व राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो ।
सो अवसरमा विद्यालयमा अध्यनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले कृषि,विज्ञान,नर्सिङ र प्राबिधिक धारका बस्तुहरुको प्रदर्शनी गरेका थिए । विक्रमसम्बत २०१४ मा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा बाल कक्षादेखी १२ सम्म २ हजार बढी विद्यार्थी अध्यनरत रहेको जनाईएको छ । विद्यालयमा ५२ जना शिक्षक,कर्मचारी कार्यरत रहेका छन । कार्यक्रममा प्रदेश सांसद भीम पराजुली,जयप्रकाश चौधरी र ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतको सहभागिता थियो ।