विराटनगर । क्रिकेट संघ मोरङका अध्यक्ष आर्थिक अनियमिततामा फसेको आरोप लगाउँदै सचिव, कोषाध्यक्षसहित बहुमत सदस्यहरुले समितिबाट राजीनामा दिएका छन् । क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसी (बाबु)ले भ्रष्टचार गरेको आरोप लगाउँदै कार्यसमितिबाट सामुहिक राजीनामा दिइएको हो ।
अध्यक्ष कुरैसीको कार्यशैली र विधान विपरितका काममा उनीहरुले असन्तुष्टि जनाएका छन् । संघका सचिव अशोक रेग्मी, कोषाध्यक्ष रश्मी शर्मा, सदस्यहरु रोशन बुढाथोकी, सुनिलकुमार पौडेल, राजेश पोखरेल, प्रविन भण्डारी, विवेक झा र अन्बिका बुढाथोकीले राजिनामा दिएका हुन् । पन्ध्र सदस्यीय कार्यसमितिमा बहुमत सदस्यले राजीनामा बुझाएपछि अध्यक्ष कुरैसी असजिलोमा परेका छन् ।
तर, अध्यक्ष कुरैसीले भने सामाजिक सञ्जालहरुमा देखिएपनि आफ्नै हातमा कसैको राजीनामा पत्र प्राप्त नभएको बताए । उनले भने–खोई के भएको हो, सामाजिक सञ्जालमा त्यस्तो देखिरहेको छु तर मसँग कसैले राजीनामा बुझाएको छैन ।
कोशी प्रदेश टि–२० क्रिकेट प्रतियोगिता संचालनका लागि सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्नुपर्ने रकम लिनका लागि पहल नगरेको, चिया पसलमा बसेर हिसानलाई विराटनगर–१९ स्थित क्रिकेट रंगशाला प्रयोग गर्न दिएको, नेपाल प्रिमियर लिगमा विराटनगरको टिम विराटनगर किंग्समा स्थानीय खेलाडी समावेश गर्न पहल नगरेको जस्ता आरोप छन् ।