विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलन्यास गरेको छ । औद्योगिक क्षेत्र मोरङको बुढिगंगा गाउँपालिका–२ मा महासंघले जग्गा खरिद गरेर भवन शिलान्यास गरेको हो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा भवन शिलान्यास गरिएको छ । प्रदेशसभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल प्रमुख अथिति रहेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउतको कार्यकाल २०७९ बाट सुरु भएको थियो । उनको कार्यकालमा भवन निर्माण गर्ने अठोट पुरा गर्ने लक्ष्य राखिएको थियो । त्यहि अनुसार सोमबार भवनको शिलान्यास भएको हो । अध्यक्ष राउत ५ औं प्रदेश सभाबाट अध्यक्ष भएका हुन् । उनको कार्यकालको दोस्रो प्रदेशसभा हो ।
राज्यको पुनसंरचनापछि उद्योग वाणिज्य महासंघको प्रादेशिकस्तरका समितिहरु बनेका हुन् । त्यहि भएर जिल्ला÷नगरहरु आफ्नै भवनमा हुँदा समेत कोशी प्रदेश समिति वहालको घरमा रहेको थियो ।
अध्यक्ष राउतले निरन्तरको न्यून आर्थिक वृद्धिको अवस्था, अर्थतन्त्रमा संरचनागत समस्या, उत्पादन मूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रतिस्पर्धी क्षमता, कृषिप्रति विकर्षण, आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता, उपभोगमुखी आयात तथा न्यून निर्यात क्षमता र उच्च व्यापार घाटा आन्तरिक रोजगारीका सिमित अवसरहरूका कारण आर्थिक क्षेत्र दवावमा रहेको बताएका छन् ।
अर्थतन्त्रमा देखिएको सङ्कुचनको कारण अध्ययन गरेर उम्कने उपाय बारे सबैले सोच्नुपर्ने बताउँदै उनले सरकारलाई निरन्तर नीतिगत सुधारका लागि दवाव दिनुपर्ने बताए । चालु आर्थिक वर्ष २०८१ को अर्धवार्षिक समिक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष राउतले
छ महिनामा वस्तु तथा सेवाको आयातबाट दुई खर्ब २४ अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन भएको चर्चा गरे ।
उनले नेपालमा उत्पादन संभावना भएका वस्तुमा निर्भर उद्योगहरु स्थापना गर्न बढी जोड दिएका छन् । क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची, कफी जस्ता कैयौं नेपाली उत्पादनले निर्यातको राम्रो सम्भावना देखाएको उनको भनाई छ ।