विराटनगर । कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ ।
राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ । तत्कालिन राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार राजमार्ग घोषणा, सडक ऐन २०३१ अनुसार सडक केन्द्रबाट दायाँ–बाँया २५/२५ मिटर र ६/६ मिटर ‘सेट ब्याक’ गरि कुल ६२ मिटरले मापदण्ड मेल खान्छ ।
तर, दुहबी बजार क्षेत्रको ६३० मिटर दुरीको सडक भने यो मापदण्डमा नपर्ने भएको छ । अब २०५४ चैत ३० (राजपत्रका प्रकाशित) सडक बिल्ट अफ एरियालाई आधार मानेर निर्माण कार्य सुरु गरिने भएको हो । यो आधारलाई मान्दा दुहबी बजार क्षेत्रको ६३० मिटर सडक केन्द्रभागदेखि दाँया–बाँया ८.२३/८.२३ हुनेछ । त्यस बाहेक सडक सीमापछिको ६÷६ मिटर सेटब्याक छोड्नु पर्नेछ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालय अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान योजनाले सोमबार सूचना प्रकाशित गर्दै २०५४ मा तय भएको सडक सीमा भित्रका संरचना खाली गराउन सुचना प्रकाशित गरेको छ । छ लेन सडक योजना इटहरीका इन्जिनियर एवं सुचना अधिकारी दुर्गा मण्डलका अनुसार यस क्षेत्र भित्र देखिएको सडक सीमा विवाद अब समाधान भएको हो । समाधान भएका आधारमा दुहबी बजार क्षेत्रमा १६ मिटरको सडक बन्नेछ । जबकी अन्य क्षेत्रमा ५० मिटर चौडाई रहेको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकको ‘राइट अफ वे’ केन्द्रदेखिको दायाँ–बाँया बनेको भौतिक संरचना ३० दिन भित्र हटाउन स्थानीयवासी समेत अब तयार रहेको इन्जिनियर मण्डलले जानकारी दिएका छन् ।
दश अर्ब ९८ करोड लागतमा निर्माण हुनुपर्ने ४९ किलोमिटोर रानी–धरान व्यापारिक मार्ग सडकको धरानको ५ किलोमिटर दुरी समेत विवाद छ । आर्थिक वर्ष २०६९/०७० देखि सुरु भएको योजना ७ वर्षमा सम्पन्न गर्ने सम्झौता थियो । तर, दश वर्ष बढी हुँदा समेत अझै उल्भन देखिदै आएको छ ।