इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ ।
अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स्वास्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सरकारको अभियानलाई सफल बनाउन नागरिकलाई अपिल गरेका छन् । अभियानको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एक कार्यक्रमका बिच सुभारम्भ गरेका छन् । सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट कार्कीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको सुभारम्भ गर्द मुख्यमन्त्री कार्कीले सरकारले सीमित साधन स्रोतबाट नागरिकको जीवन रक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरेका छन् । एचपीभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यसपटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनको आग्रह छ ।