सुन्दरहरैँचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गर्ने सुन्दरहरैंचा विराट एक्स्पो अन्तर्गत विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने भएको छ ।
विराट चेस क्लवको आयोजनामा फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका निर्देशक खगेन्द्र थापाले बताए । यस प्रतियोगिताले कोशी प्रदेशका उत्कृष्ट चेस खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने थलो प्रदान गर्ने उल्लेख गरिएको छ ।
सुन्दरहरैंचामा आयोजना हुने यस प्रतियोगिता विराट एक्स्पो भित्रको विशेष आकर्षण हुने उल्लेख गरिएको छ । कार्यक्रमको उद्देश्य चेस खेललाई प्रदेशस्तरमा प्रवर्द्धन गर्दै नयाँ खेलाडीहरूलाई प्रोत्साहित रहेको उल्लेख गरिएको छ । चेस खेलले क्षेत्रीय खेलाडीहरूबीच प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्न मद्दत गर्ने चेस क्लबका अध्यक्ष लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी र मेडलका साथमा नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः नगद ७ हजार ५ हजार रुपैयाँका साथमा मेडल तथा छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले नगद ३ हजारका साथमा मेडल पाउने आयोजकले जनाएको छ । त्यसैगरी, बेस्ट भेट्रान, बेस्ट अनरेटेड, बेस्ट सुन्दरहरैंचा र राइजिङ प्लेयर (१६ वर्षमुनिका विद्यार्थी) लाई मेडलका साथमा नगद २ हजार रुपैयाँ दिइने अध्यक्ष श्रेष्ठले उल्लेख गरे । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने उल्लेख गरिएको छ । विराट एक्स्पोको एक महत्वपूर्ण भागका रूपमा चेस प्रतियोगिता समावेश गरिनुले स्थानिय बासिन्दा र खेलप्रेमीहरूको उत्साह झनै बढाउने आयाेजककाे भनाइमा छ । खेलसँगै स्थानीय व्यवसाय र सांस्कृतिक गतिविधिको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिताले प्रदेशका खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न र आफ्नो प्रतिभा उजागर गर्न अवसर प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले चेस खेलप्रति आकर्षण बढाउनुका साथै, खेलकुद क्षेत्रलाई अझ सक्रिय बनाउने विश्वास गरिएको उल्लेख गरे ।
फोटो:फाइल