विराटनगर । विराटनगर नागरिक अभियानले आज (शुक्रबार) सामाजिक सञ्जाल विधेयकका विरुद्धमा शान्तिपूर्ण र सांकेतिक विरोध कार्यक्रम गर्ने भएको छ ।
विराटनगरको ट्राफिक चोकमा दिउँसो साढे ३ बजे आयोजना हुने कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। 'सुशासन, न्याय, सेवा प्रवाह र जनजीविका' भन्ने मूल नाराका साथ शान्तिपूर्ण विरोध प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यो कार्यक्रमले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ। प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको भन्दै आलोचना भइरहेको छ। विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको डिजिटल अधिकार र निजता संरक्षणलाई गम्भीर रूपमा कमजोर बनाउने विज्ञहरुको चेतावनी छ ।
आफ्नो वाक स्वतन्त्र हुनु पर्ने र बोलेकै वा लेखेकै भरमा कसैलाई थुन वा कारबाही गर्न नहुने अभियानका संयोजक वसन्त अधिकारीले बताए। समाज अगाडि बढाउनका निम्ति सरकारले गरेको नराम्रो काम प्रति आलोचना गर्न नमिल्दा देश खस्किने समेत हुँदा सबै नागरिकले यस विधेयकको पुनरावलोकन गर्न विरोध गर्नु पर्ने उनको भनाई छ।
विराटनगर नागरिक अभियानले विरोध कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र विधेयकका विवादास्पद प्रावधानहरू खारेज गर्न दबाव दिने अपेक्षा गरेको छ ।