विराटनगर । विराटनगर जुटमिलको जग्गा हडपेर संरचना बनाउने समूह पुनः सक्रिय भएको छ । विराटनगर–१६ स्थित जुटमिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रमा साना–साना झुपडी बनाएर अतिक्रमण गरिएको हो ।
जग्गा हडप्ने समूह एकाएक सक्रिय भएपछि विराटनगर जुटमिल प्रशासनले स्थानीय प्रशासनसँग तत्काल रोकिदिन अनुरोध गर्दै पत्राचार समेत गरेको छ । विराटनगर जुट मिलका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार जग्गा अतिक्रमण भएको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत जानकारी दिइएको छ ।
जुटमिल प्रशासन प्रमुख श्यामकुमार लामाले भरत तामाङ, चक्रबहादुर श्रेष्ठ र मोहमद मुख्तारको नाम किटेरै जिल्ला प्रशासन कार्यालय मोरङमा आवश्यक कारवाहीका लागि गत माघ १५ गते उजुरी दिएका थिए । त्यसपछि मोरङका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा संयन्त्रको टोलिले अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
जग्गा अतिक्रमण भएको क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समेत गत सोमबार निरीक्षण गर्नु भएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् । अहिले जुट मिटको जग्गा अतिक्रमण गर्ने र संरचना बनाउने ठुलै गिरोह सक्रिय रहेको बताइएको छ ।
विराटनगर महानगरपालिका–१६ का वडा अध्यक्ष उद्धव भुजेलसहितको टोलि जुटमिलको जग्गा अतिक्रमण गराउन लागेको आरोप समेत लागेको छ । अतिक्रमण गरेर बनाएको संरचना हटाउने विषयमा केहिदिन अगाडी अध्यक्ष भुजेलसँग धकेलाधकेल समेत भएको थियो । जुट मिलको संरक्षण गर्दै आएको दावी गर्ने मनोज खड्कासँग भुजेलको धकेलाधकेल हुँदै मुक्कामुक्की समेत भएको थियो । जुटमिल प्रवेश गर्ने सडकसँगै रहेको हनुमान मन्दिर नजिक बनाएको संरचना हटाउने विषयमा अध्यक्ष भुजेल र खड्काबीच भनाभन भएको थियो । त्यस क्रममा अध्यक्ष भुजेलले खड्कालाई धकेलेका थिए । त्यसपछि खड्काले भुजेललाई मुक्का बजारेको प्रत्यक्षदर्शी बताएका छन् । भुजेलले खड्का बिरुद्ध प्रहरीमा जाहेरी समेत दिएका छन् ।
वडा अध्यक्ष भुजेल भने जुटमिल व्यवस्थापन समितिले अहिलेसम्म कुनैपनि जग्गा संरक्षण गर्नुपर्ने विषयको जानकारी नदिएको जिकीर गर्दछन् । उनले आफैं संलग्न भएको भन्ने आरोप झुटो भएको बताउँछन् । जग्गा अतिक्रमण भएको विषयमा आफैंले स्थानीय प्रशासनलाई जानकारी गराईरहेको बताउँदै उनले भने–कसैले भनेकै आधारमा संलग्न हुनसकिदैन, प्रमाण चाहिन्छ ।
जुट मिल अध्यक्ष कार्कीका अनुसार सुरुमा सानो झुप्रो बनाउने अनि क्रमशः घेराबेरा गर्दै जग्गाको क्षेत्र बढाउने र स्थायी किसिमका संरचना बनाउन लगाउने समूह सक्रिय रहेको छ । जुटमिलको दक्षिणतर्फ सुगर मिल जाने बाटो लाइन नेपाल–भारत दशगजा नजिक पर्दछ । यहाँ भने मदिरा बिक्री गर्ने भट्टी, तस्करी चलाउने र लागुऔषध कारोबार गर्नेहरुले झुपडी बनाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जुट मिल प्रशासनले दिएको उजुरीका आधारमा तीनवटा संरचना निर्माण तत्काल रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिईसकिएको जानकारी दिएका छन् । उनले जुटमिलको ६७ बिघा जग्गामध्ये ५० बिघा घेराबेरा रहेको र बाँकी पेरीफेरीको १७ बिघा जग्गा अतिक्रमण हुनेक्रम पहिल्यैदेखि जारी रहेको बताएका छन् । पहिले टहरा बनाउने, टहरामा बस्दाबस्दै इटाको गाह्रो लगाएर जस्ताले छाउने अनि त्यसमा लामो समय बसेपछि पुनः पक्की घर बनाउने जस्ता कार्य हुँदै आएको देखिन्छ, प्रमुख जिल्ला अधिकारी यादवले भने–पुरानो हकमा तत्कालै केहि निर्देशन भएको छैन तर नयाँ बनेका संरचना रोक्न निर्देशन दिइएको छ ।