इन्दु साह
विराटनगर । आफु अनुकुल सरकारले व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने गरि जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा सामाजिक सञ्जाल विधेयकको विरोध गरेको छ । शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेको छ । विराटनगर नागरिक अभियानले विराटनगरको ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन आइोजना गर्दै उक्त विधेयकको विरोध गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेको “सामाजिक संजालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” ले वाक स्वतन्त्रताको साथै मानवअधिकार र लोकतान्त्रीक मुल्य र मान्यतामा असर पुर्याउने भन्दै यो प्रदर्शन गरिएको थियो ।
दिउसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म भएको प्रदर्शनमा विराटननगरका युवाहरुको साथै विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमका संयोजक अभियन्ता वसन्त अधिकारीका अनुसार कार्यक्रमले सरकारद्वारा प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रदर्शन गरिएको हो । प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको अभियान्ताहरुको भनाइ छ । विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको अधिकार खोसेर लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै युवाहरूले विरोध जनाएका थिए । अभियानका संयोजक अधिकारीले बोलेकै, लेखेकै वा अरु कसैको पोस्ट पनि लाईक वा सेयर गरेकै भरमा कसैलाई थुनछेक वा कारबाही गर्ने कानुन ल्याउन नहुने बताए ।
यसैगरि युट्युब च्यानल प्रोजेक्ट कुराका कन्टेन्ट क्रिएटर सरोज कार्कीले अस्पष्ट रूपमा तयार गरिएको यो विधेयक पास हुन नहुने बताए । कार्यक्रमको समापनमा बोल्दै उनले सामाजिक संजाल वा प्लेटफर्महरुलाई नियमन गर्नु पर्ने साटो नियन्त्रणको बाटोमा जानु खतरनाक भएको बताए । उनले भने, ‘सरकार विरुद्ध कसैले नबोलुन भनेर सरकारले फौजदारी कानुनको नाममा जनतालाई तर्साउन खोजेको छ।’
कार्यक्रममा शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, कानुन व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । पछिल्लो समय यस विधेयकको विरोध देशभर भईरहेको छ । तर सरकारले भने यो विधेयक सामाजिक संजाललाई नियमनका लागि मात्र ल्याएको भनेर यसको समर्थन गरिरहेको छ ।