विराटनगर । विराटनगर-१० सोमबारे चोकमा शनिबार दिउँसो मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणतर्फ दिउँसो १:३० बजेतिर यो दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रानीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १-०२-०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए।
गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका-४ का १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको र दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए।
दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त भएका छन्। प्रहरीले मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।