विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो ।
आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन गरि विराटनगर १६ बर्माटोलमा रहेको नवनिर्मित श्री राधाकृष्ण मन्दिर एव सामुदायिक भवनको पुन निमार्ण र अक्षय कोष स्थापनाको लागि एक हप्ताको महापुराण लगाउन लागिएको संयोजक राम थापाले जानकारी दिनुभयो ।
एक हप्तासम्म सुरु हुने महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुने भएको छ । सुवेदीको कौशलताले भक्तजनलाई मन्त्र मुग्ध बनाएर कथा वाचन गर्ने आयोजकको भनाई छ । महापुराणमा दैनिक हजारौँको सख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । महापुराणको लागि सलाई मिलको प्राङ्गणमा तयारी भईरहेको विराट भजन समूहकी अध्यक्ष उमा जोशीले जानकारी दिनुभयो । महापुराणमा बर्माटोल, दरैयाबस्ती, दक्षिणगेट, हटताली हाट, रघुपति जुटमिल,जतुवा, परिजात टोल लगायत उत्तरी भेगबाट श्रद्धालु भक्तजनहरुको उपस्थिती रहने आयोजकले अपेक्षा राखेको छ ।
महापुराण सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शिवरात्रीको अवसर पारेर आयोजना गर्न लागेको महपुराणको लागि फागुन ८ गते विहान विराटनगरमा कलशयात्रा निकाल्ने तयारी गरिएको छ । विहान दैनिक पुजा अर्चना तथा भागवत पाठ हुनेछ । दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म कथा वाचन, साझमा दिप प्रज्वलन, आरती भजन किर्तन हुने भएको छ । समापनको दिन शिव शंकर भगवानलाई १००८ नाम मन्त्र उच्चारण साथै १००८ बेलपत्र अर्चना एवं पूर्णाहुती यज्ञ विसर्जन गर्ने कार्यक्रम रहेको छ ।