विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे–नगरेको, पारित गरे–नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे(नगरेको, राजस्वको विभाजन गरे–नगरेकोलगायत पर्छन् ।
छ वटा महानगरमध्ये भरतपुर ७६.२ प्रतिशत अंकसहित पहिलो भएको छ । विरगंज महानगरले ४३.१ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ । तेस्रो हुने ललितपुर महानगरले ६६.७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४.३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१.५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिए । विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको भन्दै उनले सबैको सहयोगमा थप अगाडी बढ्ने बताएका छन् । विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर बनेको थियो ।
पछिल्लो अढाई वर्ष महानगरपालिकाका नयाँ नेतृत्व आएपछि सुशासनमा सुधार भएको संकेत समेत आयोगको मूल्यांकनबाट थप प्रष्ट हुन्छ । सिमित स्रोत र साधन भएपनि परिचालन प्राथमिकताका आधारमा गर्दै आएको छ ।