काठमाडौँ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबबानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा म्यानमारकी विनले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यसपछि खेलको ६०औँ मिनेटमा लेबनानकी लायलाले एक गोल गरिन् ।
खेलको ७२औँ मिनेटमा म्यानमारकी अर्की खेलाडी स्वेय यीले हेडमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि सानले अर्को गोल थपिन् । उनले रिबाउन्डमा गोल गरेकी हुन् ।
यस जितसँगै म्यानमारले तीन अङ्क जोडेको छ । सोही प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा नेपाल र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे सुरु हुने छ ।