विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ ।
यसपटकको फुटबल प्रतियोगितामा भारतको २ वटा टिमसहित नेपालका ८ वटा गरी १० वटा टिम सहभागी हुने भएको छ ।
विराट गोल्डकप आयोजक समिति विराटनगरले सोमबार साँझ शहिद रङ्गशाला खेल मैदानमा पत्रकार सम्मेलन गरी नवौँ संस्करणको विराट गोल्डकपलाई ऐतिहासिक बनाउने जानकारी गराएको हो । यस अघि विराट गोल्ड कप ट्रष्ट आफैले गरेको थियो भने यसपटक उद्योगी नविन रिजाललाई संयोजकको रुपमा जिम्मा दिएको छ ।
भारतबाट साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब रहेका छन् भने त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लब नेपालका विभागीय टिम रहेको संयोजक रिजालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
त्यसैगरी नेपालका थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब र रिजालको मोरङ एफसीको सहभागिता रहने जनाईएको छ ।
यसपटक ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताको लागि रंगाशालाको मैदान तथा फ्लड लाईटको मर्मत तथा सम्भार गरिने काम तिव्र भईरहेको रिजालले बताउनुभयो । प्रतियोगिताका लागि संरक्षक र प्राविधिक सहयोगीमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ उद्योग व्यापार संघ रहेका छन् । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् ।
पुरस्कार बापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोउत्कृट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिने रिजालले जानकारी दिनुभयो । प्रतियोगितालाई सभ्य र भव्य बनाउन दैनिक रूपमा राष्ट्रिय स्तरका कलाकारबाट आदा घन्टा सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ । दर्शकमध्ये दैनिक ५ जनालाई ‘फेस अफ दी विराट गोल्डकप’ छनोट गरेर ताज पहिरिने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।