विराटनगर । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी स्वेदश फर्कन थालेका छन् । घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती सहन नसकेपछि आफ्नै देश फर्कन थालेका हुन् । प्रकृतिको मृत्युपछिको त्यहाँ बसेर पढ्दै गरेका ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल आएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार दिउँसोसम्म ७५ जना जोगबनी नाकाहुँदै फर्किएको जानकारी दिएका छन् । फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँका ३, सिराहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ जना रहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन्।
नेपाल फर्केका विद्यार्थीको बारेमा सीमा नाकामा उनीहरूको रेकर्ड राखिएको छ । नेपाल फर्किएका विद्यार्थीलाई आ–आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको छ । नेपाली विद्यार्थीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरिरहेका छन् ।