इन्दु साह
विराटनगर । विराटनगरका हटियामा तपाईले दैनिक तरकारी खरिद गर्दा ढक तथा तराजुको अवस्थामा कति ध्यान दिनुहुन्छ । महानगरले अहिले हटियामा प्रयोग हुने सोहि ढकतराजुमा हुने कैफियत चेकजाँच अभियान सुरु गरेको छ ।
उपभोक्ताले हटियामा खरिद गर्ने सामान प्रायःजसो ढुंगाको ढकले मापन गरिन्छ । तर, उक्त ढक तराजु कानुन अनुसारको वजन नापतौल भईरहेको छ की छैन भन्ने धेरैलाई जानकारी छैन । यससँग जनचासो बढ्न थालेपछि महानगरको नगरप्रहरीको टोलिले निरन्तर अनुगमन गर्दै आएको हो ।
महानगरका नगरप्रहरी राजन पौडेलका अनुसार दैनिक १० देखि १५ केजी ढुंगाको ढक नियन्त्रणमा लिने गरिएको छ । उनका अनुसार विराटगरमा लाग्ने हरेक हटियामा मापदण्ड विपरीत भएका ढक तथा तराजु नियन्त्रणमा लिने र त्यसको कैफियत परीक्षण गरिदै आएको छ । ढुंगाको ढक तराजु प्रयोग गर्नै पाइदैन । कानुन विपरितका सामाग्री प्रयोग गरेर वस्तुको नापतौल लिने र दिने कामलाई विराटनगरबाट पूर्ण रुपमा निस्तेज पारिने दावी छ ।
यो पहिलोचरणको अनुगमन भएकोले त्रुटि भेटिएकालाई सचेत गराई छोडिनेछ । नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलो चरण अनुगमन सकाएको स्थानमा दोस्रो चरणको अनुगमन हुनेछ । यदि पहिला पनि ढुंगाको प्रयोग गर्नेहरुले फेरी पनि गरेको पाइइमा उनीहरुलाई कारवाही गरिने छ । नियम अनुसार नापतौल विभागले प्रमाणित गरेको बाहेकको ढक तथा तराजु प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ । महानगरका विभिन्न स्थानमा गरी जम्मा ४४ स्थानमा हाट बजारलाग्ने गरेको छ ।
उक्त हाट बजारमा वस्तु तौलको लागि प्रयोग हुने ढक तथा तराजुमा ढुंगा थप गरी बाँधेर प्रयोग गर्ने गरेको पाईएको छ । महानगर प्रहरीले नियन्त्रणमा लिएको ढुंगाको ढकको तौलमा धेरै फरक भने भेटिएको छैन । तर, यो कानुन विपरितको प्रयोग हो । यता नापतौलबाट प्रमााणित गराएका धातुका ढकहरु समेत खिएर तौल कम भएको पाईएको पौडेलले बताए । विभिन्न हटियाबाट नियन्त्रणमा लिएको ढकलाई डिजिटल काँटामा मापन गरेरे वजन यकिन गरिने गरिएको छ ।
नेपालको कानुन बमोजिम नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भनि उल्लेख गरिएको छ । कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित मापदण्ड भन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानीजानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा बिगार्न वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनको नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन । कनुन बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ व्यवस्था छ ।