विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।
नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराए ।
विराटनगरमा माघ २६ र २७ गते भएको संघको दोस्रो अधिवेशनबाट धनराज काफ्ले निर्वाचित भएका थिए । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन समेत रहेका काफ्लेले पदस्थापन कार्यक्रममा औषधी व्यवसायीहरुको हकहितमा सधैभरी लागी पर्ने बताए । उनले आफनो कार्यकालभर सबै औषधि व्यवसायीको हकहित र अधिकार प्राप्तीका लागि पर्ने बताए । उनले आफुले प्रदेशमा रहेका ११ वटै शाखालाई व्यवस्थित रुपबाट संचालन गर्ने अवस्था सृजना गर्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष काफ्लेले संघकोे विधानको अनुशरण गर्दै उत्पादक, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा व्यवसायी बिचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने कार्यलाई प्राथमिकता दिनेसमेत प्रतिबद्धता जनाए ।
निर्वाचनबाट एनसीडि कोशी प्रदेशको वरिष्ठ उपाध्यक्षमा झापाका सूर्यप्रसाद कोइराला, थोक उपाध्यक्षमा विराटनगरका सुदिनध्वज श्रेष्ठ, खुद्रातर्फको उपाध्यक्षमा दिलिप सुवेदी, महासचिवमा विराटनगरका लक्ष्मण माझी चौधरी, कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ र सचिवमा झरना न्यौपाने र उपकोषाध्यक्षमा झापाका सेवक दाहाल विजयी भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शरद गौतम, खेमलाल काफ्ले, यामकुमार खड्का, बेदबहादुर थापा –गणेश), सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई रहेका छन् ।