विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा सेन्ट मेरिज स्कुल प्रथम

<span class='c1'>विराटनगर महानगरले आयोजना गरेको विज्ञान</span> <span class='c2'>प्रदर्शनीमा सेन्ट मेरिज स्कुल प्रथम</span>

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ सेन्ट मेरिज बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्ट मेरिज प्रथम भएको हो ।

त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्डरी स्कुल तृतीय र कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यस्तै विधागततर्फ ५ वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट विश्लेषण र प्रस्तुत आदर्श मावि, उत्कृष्ट विषयवस्तु एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण विकेभिएम स्कुल, उत्कृष्ट उद्यमशीलता डिएभी स्कुल र उत्कृष्ट स्टल सजावट अर्किट सेकेण्डरी स्कुल पुस्कृत भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए । मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गरेको थियो । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक नेपालले जानकारी दिए ।

विराटनगर–७ स्थित आदर्श स्कुल परिसरमा आयोजित प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे । ‘तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैं साथ रहन्छ,’ मेयर कोइरालाले भने, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’ मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिए ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताइन् । उनले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरिन् । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उनको विचार थियो । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनीमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखाका अधिकृत भट्टराईले बताए । हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्