विराटनगर । विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारीमा कार्यरत यातायात मजदुरलाई जिम्मेवार बनाउँदै दुर्घटना न्यूनीकरणको अभियान सुरु गरिएको छ । जसमा यातायात क्षेत्रमा कार्यरत मजदुर जिम्मेवार रहने प्रतिवद्धता उल्लेख सडक दुर्घटना र सडक अनुशासन पालनामा कर्तव्यनिष्ठ रहेको स्टीकर टाँस्न थालिएको हो ।
कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारीले आइतबार बसपार्कबाट छुट्न लागेको बसमा स्टिकर टाँस गरेर अभियान शुभारम्भ गरेका थिए । जुन स्टिकरमा ‘म जिम्मेवार यातायात मजदुर’ उल्लेख गरिएको छ । जसमा ‘लेन अनुशासनको पालना गर्छ, पैदल यात्रुलाई पहिलो प्राथमिकता दिन्छु, जथाभावी ओभरटेक तथा पार्किङ्ग गर्दिन, तीव्र गतिमा सवारी चलाउदिन, लापासे, मापसे सेवन गरेर सवारी चलाउदिन, सधैं ट्राफिक नियमको पालना गर्नेछु’ उल्लेख छ ।
नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङले संयुक्त रूपमा आयोजना गरिएको सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना जागरण गराउने स्टिकर बनाइएको छ ।
जसमा सार्वजानिक सवारीमा हुँदा यात्रुप्रति गर्ने व्यवहारमा संवेदनशीलता अपनाउन मजदुरहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ । त्यस बाहेक चालकले मादक पदार्थ सेवन गरेर सवारी कुदाउन नहुने, तीव्र गतिलाई नियन्त्रणमा राख्ने, यात्रुहरुलाई सवार गराउन सहजीकरण गर्ने जस्ता कुराहरुको प्रोत्साहन गर्ने उल्लेख छ ।
कार्यक्रममा डिआईजी अधिकारी, मोरङका प्रहरी उपरीक्षक नारायण चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय सुनसरी, इटहरीका डिएसपी रामेश्वर त्वाती, नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कोशी प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि.ं का अध्यक्ष राजन कडेलले स्टिकर सार्वजानिक गरेका थिए ।
उनीहरुले सवारी दुर्घटनामा चालक जिम्मेवार हुनुपर्ने औल्याउँदै यात्रुहरुले पनि त्यसमा सहयोग गर्नुपर्ने उल्लेख गरेका थिए । सवारीमा सवार मात्रै दुर्घटनाका कारण ज्यान जोखिममा नभई सडकको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीमा आमसर्वसाधारणले ख्याल गर्नुपर्नेमा सहभागीहरुको जोड थियो । स्टिकर लोकापर्ण कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङ जिल्ला अध्यक्ष, उत्तम बन्जाराको अध्यक्षतामा भएको थियो ।