विराटनगर । विराटनगर विमानस्थलबाट एक युवक अमेरिकी डलर सहित पक्राउ परेका छन् । विराटनगरबाट काठमाडौं जान लागेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारी पक्राउ परेका हुन् ।
अन्सारीको साथबाट १ सय दरका ८१ नोट डलर बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । बरामद गरिएको अमेरिकी डलर नेपाली रूपैयाँ ११ लाख १९ हजार ४७२ रूपैयाँ बराबर हुन्छ । अवैध रूपमा बोकेको अमेरिकी डलरसहित अन्सारीलाई शुक्रबार राती पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।
उनी यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा थिए । प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो । अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर कुनै स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा एसपी चिमरियाले बताउनुभयो । यति धेरै अमेरिकी डलर बोकेर हिँड्न नेपालमा प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ ।
यद्यपि, अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरी अमेरिकी डलर सहित आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाइएको छ ।