विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एकिकृत भान्सा (मेगा किचेन) सञ्चालनमा ल्याउन सरकारले बजेट पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने तयारी अन्तर्गत विराटनगरलाई समेत समेटिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको छ । जसमा विराटनगर महानगरपालिका समेत समेटिएको छ । मेगा किचेनमा स्थानीय तह भित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत खाजा खुवाउने कार्यक्रम पर्दछ ।
मेगा किचेन स्थापना, सञ्चालन तथा कार्य–सञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले बजेटसहित सञ्चालनका लागि निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री वर्षामान पुनले यो कार्यक्रम समेटेका थिए ।
सात प्रदेशका सात स्थानीय तहमा पहिलो चरणमा यो कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो । जसमा विराटनगरसहित, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका छनौट भएका छन् ।