विराटनगर विमानस्थलबाट विभिन्न एयरलाइन्सहरूले आन्तरिक उडान सेवा प्रदान गर्दै आएका छन्। तर, यात्रुहरूले बारम्बार सामना गर्नुपर्ने एउटा प्रमुख समस्या भनेको उडानसम्बन्धी जानकारी अभाव हो। कुनै पनि एयरलाइन्सले टिकट काट्ने बेलामा आकर्षक अफरहरू दिन्छन्, तर उडान ढिलो भएमा वा रद्द भएमा त्यसको सूचना समयमा पाउन भने कठिनाइ हुने गरेको छ।
विगत केही समययता यात्रुहरूले उडान तालिका परिवर्तन, ढिलाइ वा रद्द भएका उडानहरूको जानकारी लिन संघर्ष गर्नुपरेको अनुभव सुनाइरहेका छन्। एयरलाइन्सका वेबसाइटहरूमा अपडेट गरिएको जानकारी भेट्न मुस्किल पर्छ भने काउन्टरहरूमा दिइएका सम्पर्क नम्बरहरू उठ्ने सम्भावना न्यून देखिन्छ। कतिपय अवस्थामा कल उठे पनि यात्रुलाई पर्याप्त जानकारी प्रदान गर्न सकिँदैन। बरु, ‘एयरपोर्ट आएर बुझ्नुहोस्’ भन्ने जवाफ मात्र पाइन्छ।
वर्तमान समयमा डिजिटलाइजेसन हरेक क्षेत्रमा अनिवार्य भइसकेको छ। विश्वका धेरैजसो एयरलाइन्सहरूले आफ्ना ग्राहकलाई वास्तविक समयमै उडानसम्बन्धी जानकारी उपलब्ध गराउन मोबाइल एप, वेबसाइट, एसएमएस र इमेलजस्ता प्रविधिको प्रयोग गरिरहेका छन्। तर, नेपालका अधिकांश एयरलाइन्सहरू अझै पनि डिजिटल अपडेट प्रवाह गर्न पछि परेका छन्। यात्रुहरू आफ्नो फ्लाइटको स्थिति जान्न एयरपोर्ट धाउनुपर्ने बाध्यता रहेको छ। विमानस्थलको आफ्नो वेबसाइट पनि छ तर त्यो पनि अपडेट छैन । रियल टाइम जानकारीको सकसले यात्रुलाई समस्या परेको छ ।
यस समस्याको समाधानका लागि एयरलाइन्सहरूले आफ्ना डिजिटल सेवा सुधार गर्नुपर्ने आवश्यकता छ।एयरलाइन्सका वेबसाइट र मोबाइल एपलाई नियमित अपडेट गरिनुपर्छ।यात्रुहरूले सहजै सम्पर्क गर्न सक्ने हेल्पलाइन सेवा प्रभावकारी बनाइनुपर्छ।उडान तालिकामा हुने कुनै पनि परिवर्तनबारे यात्रुलाई एसएमएस वा इमेलमार्फत जानकारी गराइनुपर्छ।विमानस्थल प्रशासनले पनि एयरलाइन्सहरूसँग समन्वय गरी सूचनाको अभाव अन्त्य गर्न पहल गर्नुपर्छ।