विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी, २०८१ को आयोजना गरिएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुको सहभागितामा आयोजना गरिएको समिक्षा गोष्ठीको उद्धघाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरेका छन् । गोष्ठीमा न्यायाधीश, प्रहरी अधिकारी, प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु, मुद्दा चल्ने प्रहरी युनिटका अनुसन्धान अधिकारी तथा अभियोजनकर्ता सरकारी वकिलहरु उपस्थित रहेको थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा केन्द्र, प्रदेश र जिल्लागत हिसाबले प्रस्तुतिहरु भएका छन् । ‘अनुसन्धानको असल एवं सबल पक्षका बारेमा छलफल गर्दै थप सूचना र सीपहरु आदानप्रदान भएका छन्,’ डीआईजी अधिकारीले भने, ‘अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धि र अनुसन्धानमा देखिएका समस्या समाधान गर्ने उद्देश्य गोष्ठीको हो ।’
न्यायाकर्ता, अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच अपराध अनुसन्धानका विविध विषयमा छलफल एवं समीक्षा गरेर अपेक्षित परिणाम प्राप्त गर्न गोष्ठीको आयोजना गरिएको अपराध अनुसन्धान विभागका एसएसपी कृष्ण पंगेनीले बताए ।
गोष्ठीमा न्याय निरुपण, अनुसन्धान एवं अभियोजनमा देखिएका समस्याहरु, समाधानका उपाय, विद्यमान अवस्था, सीमा, अपेक्षा, सुधार गर्नुपर्ने कुरा, अनुसन्धानमा भोग्नु परेका जटिलता लगायतका विषयमा छलफल भएर साझा निष्कर्ष निस्किने उनले बताए । अपराध अनुसन्धान विभागका प्रमुख एवं एआईजी कुवेर कडायतले सरोकारवाला पक्षलाई एकै ठाउँमा भेला गराएर अपराध अनुसन्धानको वर्तमान परिदृष्य, असल प्रयास, नवीनतम् सुरुवात, अनुसन्धानको विद्यमान अवस्थाको मूल्याकंन गर्दा मात्रै उत्कृष्ट नजिता प्राप्त हुने बताए । उनका अनुसार अनुसन्धानमा देखिएका कानुनी लगायतका समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न तथा प्रहरीलाई प्राप्त नयाँ जिम्मेवारी सम्पक्ती शुद्धीकरण सम्बन्धी कसुरको कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी लिएर कार्यान्वयनमा एक रुपता कायम गर्ने प्रयास हुने छ ।
जिल्ला अदालत मोरङकी न्यायाधीश सीता शर्मा अधिकारीले न्याय सम्पादनमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘न्याय सम्पादनको आधार नै अनुसन्धान हो । प्रहरीले अनुसन्धानमा निष्पक्ष र प्रभावकारी भूमिका खेल्नुपर्छ,’ उनले भनिन् । नेपाल प्रहरी विश्वमै राम्रो अनुसन्धान गर्नेमा पर्ने उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले अपराध नियन्त्रण, अनुसन्धान आफैंमा जटिल एवं चुनौतीपूर्ण विषय रहेको बताए । सीमित स्रोत साधनका बाबजुद पनि अपराध अनुसन्धानमा प्रहरी अब्बल देखिएको उनको भनाइ छ । प्रहरीका लागि काम गर्न प्रदेश सरकारलाई समस्या रहेको उनले बताए । पछिल्लो समय समाजमा ‘साइबर क्रइम’ हत्याहिंसा, बलत्कार जस्ता घटना बढेको र यही हिसाबले अपराध बढ्दै जाने हो भने नेपालका जेलले अब नधान्ने मन्त्री भण्डारीको भनाइ छ । भण्डारीले पछिल्लो समय राजनीतिक दल र नेताहरुबाट प्रहरीले धेरै दबाब झेल्नुपर्ने अवस्था रहेको बताए ।