विराटनगर । कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सवको तयारी पुरा भएको छ।
वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५, १६ र १७ गते उत्सव हुन लागेको हो ।
आयोजकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा फाउन्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिएको बताए । यसमा केन्द्रीय र प्रदेश स्तरीय राजनीतिक नेतृत्व तथा विज्ञको प्रस्तुति र सहभागिता रहने बताए ।
कांग्रेस नेता डा. शेखर कोइराला, कोसीका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि सभाका सांसद प्रदीप ज्ञवाली,योगेश भट्टराई, सांसद मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुंदैछन । राष्ट्रिय स्तरका विभिन्न विधाका विज्ञ सम्मिलित छलफल हुने झाले बताए । प्यानल छलफलमा नेपालका चर्चित पत्रकारहरुले सहजीकरण गर्ने बताइएको छ । टिकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारी लगायत विषयगत विज्ञले छलफललाई सहजीकरण गर्नेछन् ।
झाले भने,"नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित मञ्चले विचारहरूको आदान(प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिनेछ।" कोशी प्रदेशमा आयोजित विचार उत्सवको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण छलफल हुने बिना उनले सुनाए ।
विचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोशी प्रदेशले यो उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने संस्थापक झाको भनाइ छ । स्थानीय हिमालय रोडमा खुलाशत्रका रुपमा गरिने उत्सवमा नेपालका चर्चित कलाकारको दैनिक सांस्कृतिक तथा सांगीतिक प्रस्तुति समेत रहने छ ।