विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ ।
विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ ।
प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर सददाव आलमले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१, १५ र १० हजार नगद पुरस्कारका साथमा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीले ४ हजार पुरस्कार पाउनेछन्। समयअनुसार विद्यार्थीलाई अगाडि बढ्ने वातावरण निर्माण गर्नुपर्नेमा कलेजका प्रमुख भरत सापकोटाले बताए ।
प्रतियोगितामा मोरङ र सुनसरीका १५ विद्यालयको सहभागिता रहेको सापकोटाले जानकारी दिए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उनले बताए ।