विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पतालमा प्रवेश गरेर तोडफोड तथा सुरक्षा गार्डमाथि हातपात गर्ने तहसम्म उत्रिएका हुन् ।
अस्पताल परिसरमा व्यवस्थापनसँग कुरा गर्न पुगेका चिकित्सकको समूहलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेपछि उनीहरुले सुरक्षा गार्डमाथि नै आक्रमण गरेर भित्र प्रवेश गरेका थिए । त्यो भिडियो भने सामाजिक सञ्जालमा सार्वजानिक भएको छ । मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीका अनुसार विषय आन्तरिक भएपनि सुरक्षागार्डमाथि हातपातमा उत्रिएको आरोपमा दुईजना चिकित्सकलाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा पर्नेहरुमा डा.बिशाल अग्रवाल र डा. वकार अहमद रहेका छन् । प्रहरीले भीडमा देखिएका चारजनालाई नियन्त्रणमा लिइएको थियो । तर, दुईजना भने घटना भएको देखेर छुट्याउन पुगेको पाइएपछि उनीहरुलाई छोडिएको प्रवक्ता जोशीले जानकारी दिएका छन् ।
हस्पिटलका पूर्व सञ्चालकहरु डा.विशाल र डा.वाकरसहित डा.सुमित घिमिरे, अरबन्दी राजबंशी, दिपककुमार साहसहित शनिबार बिहान व्यवस्थापनसँग कुरा गर्न गएको बेला सुरक्षा गार्डसँग सुरुमै विवाद भएको थियो । संजीवनी सञ्चालन गर्दै आएका डा.दिवाकर यादव अस्पतालमा भने थिएनन् ।
तर, डाक्टर दिवाकरसँग कुरा गर्न पुगेका उनीहरुलाई प्रवेश गर्न रोक लगाउन खोजेपछि डाक्टरसहितको समूहले सुरक्षा गार्ड सत्यनारायण यादवमाथि हातपात गर्दै उनको खुकुरी खोसेका थिए । खुकुरी खोसेपछि उनीहरुले लछारपछार पार्दै भित्र प्रवेश गरेर प्रशासन कक्ष तोडफोड गरी ल्यापटप तथा एघार लाख रुपैँया रकम लुटेको आरोप अस्पतालका अहिलेका सञ्चालक डा.दिवाकर लगाएका छन् । उनले १५–२० जनाको समूहमा आएको टोलिले सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर भित्र प्रवेश गरीकन ल्यापटप तथा नगद लुटेको आरोप चिकित्सकहरुमाथि लगाएका हुन् ।यद्यपी प्रहरीमा भने हस्पिटलका सञ्चालकले अहिलेसम्म पनि निवेदन दिएका छैनन् । प्रवक्ता जोशीका अनुसार घटना भएको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो । त्यस बखत विषय आन्तरिक रहेको भन्दै उनीहरुले प्रहरीलाई फर्काएका थिए । प्रवक्ता जोशीले भने–घटनापछि हामी पुगेका थियौं, यो आन्तरिक विषय हो भनेर दुवै पक्षले भनेपछि फर्केका थियौं तर पछि सामाजिक सञ्जालमा भिडियोहरु आएपछि विषय अलिक गम्भीर जस्तो लागेर चारजनालाई नियन्त्रणमा लिएका हौं । नियन्त्रणमा लिएकामध्ये दुईजना भने घटना भएको देखेर छुट्याउन गएको खुलेपछि छोडिएको हो ।अस्पतालका सञ्चालक डाक्टर दिवाकर यादवले आफू अस्पतालमा नभएका बेला उनीहरु आएर तोडफोड गरेको बताए । उनले पैसा र ल्यापटप लिएर गएको बताएका छन् । उनी घटना भएको थाहा पाएपछि ढेड घण्टापछि आउँदा तोडफोड भईसकेको थियो । उनले चार महिना अगाडीसम्म सँगै काम गरेको र केहि व्यवहार मिलाउन बाँकी रहेको बताए । उनीहरु सम्पर्कमा नआएकोले कानुनी रुपमा दुईतर्फी मिलेर व्यवहार मिलाउन नपाएको उनको भनाई छ । उनले बारम्बार आफूलाई मार्न चिकित्सकको टोलि आएको समेत आरोप लगाए ।
घटनामा संलग्न आरोपी डाक्टर बिशालले अस्पतालका सञ्चालक दिवाकरले सम्झौता अनुसारको व्यवहार नगरेको बताए । उनले कुनै न कुनै रुपमा संजीवनी अस्पतालमा एउटा चिकित्सकहरुको टिम रहेकोले त्यसलाई कानुनी रुपमा सञ्चालन गर्नुपर्छ भन्ने माग लिएर त्यहाँ पुगेको सुनाए । तर, आफ्नै टिमले सञ्चालन गरिरहेको अस्पताल पुग्दा गार्डले दुव्र्यवहार गरेपछि केहि न केहि आवेग प्रकट भएको बताए ।
खास विवाद के हो ?
खासमा संजीवनी अस्पताल रहेको घरको वहाल कर सम्झौता डाक्टर सुमित घिमिरेको नाममा रहेको छ । घरधनी बोधराज अधिकारीसँगै डाक्टर घिमिरेले घर वहाल सम्झौता गरेर लिएका छन् । घिमिरेको बिग हस्पिटल प्रा.लि.का सञ्चालक समेत हुन् । तर, अधिकारीसँग २०८० पौष १८ मा घर वहालमा लिएपछि उनले संजीवनी हस्पिटल सञ्चालनका लागि डाक्टर दिवाकर यावदलाई घर प्रयोगमा दिएका थिए ।उक्त घर प्रयोग गरेर अस्पताल सञ्चालन गर्दा डा.दिवाकरले मुनाफाको ३० प्रतिशत राख्नुपर्ने र बाँकी ६५ प्रतिशत मुनाफा बिग हस्पिटललाई बुझाउनु पर्ने शर्तनामा रहेको थियो । ५ प्रतिशत मुनाफा भने नविन यादवले पाउने गरीको शर्तनामा रहेको थियो । तर, संजीवनीका सञ्चालक यादवले शर्त अनुसारको पालना नगरेपछि विवाद सुरु भएको थियो । घर वहालमा लिएका डाक्टर घिमिरेमाथि संजीवनीका सञ्चालक र स्वयम् घरधनीले नै मिलेर शर्त अनुसारको कारोबार रोकेको प्रहरीको समेत बुझाई छ । घिमिरेले सम्झौतामा उल्लेख भएको शर्तनामा अनुसारको कार्य नभएको भन्दै यादवलाई माघ ३ गते नै घर खाली गरिदिन निवेदन दिएका थिए । संजीवनी अस्पताल २०८० फागुन १७ गतेसम्म सञ्चालन अनुमति लिएर मान्यता प्राप्त नै देखिन्छ । नविकरण सकिएकै दिन बिग हस्पिटलको टोलिले ५० शै्याको संजीवनी हस्पिटल सञ्चालन गर्दै आएका यादवलाई हटाउन खोजेको हो ।मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशी भने यो विवाद विभागिय रुपमा स्वास्थ्यसँग सम्बन्धित रहेको बताउँछन् । उनले अस्पताल सञ्चालनको प्रक्रिया, यसको कानुनी प्रक्रियाको विषय दर्ता स्वीकृत दिने निकायले हेर्नुपर्ने देखिएको बताए । अस्पतालको मुनाफा बाँडफाँडलाई लिएर दुईतर्फीबीच हानाहान हुने अवस्था आउन नदिनका लागि प्रहरीले दुवै पक्षलाई छलफलमा आउन भनेको पनि सुनाए ।