विराटनगर फाल्गुन १८ ,
विराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजले अब विज्ञान संकाय पनि सञ्चालन गर्ने भएको छ। कलेजमा हालसम्म व्यवस्थापन संकायमा मात्रै कक्षा ११ र १२ को पढाइ हुँदै आएको थियो। तर, आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायसमेत सञ्चालन गरिने कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिएका छन्।
उनका अनुसार विज्ञान संकायका लागि उत्कृष्ट भौतिक पूर्वाधार र दक्ष शिक्षक टोली तयार गरिएको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अत्याधुनिक प्रयोगशालासहित विज्ञान विषयको अध्ययनलाई प्रभावकारी बनाउन कलेज प्रतिबद्ध रहेको उनले बताए। कलेजमा हाल २ हजार बढी विद्यार्थी अध्यानरत रहेका छन् ।
मेरिल्याण्ड कलेजले विज्ञान संकाय सञ्चालन गरेसँगै कोशी प्रदेशमै उत्कृष्ट विज्ञान शिक्षालयको रूपमा स्थापित गर्ने दाबी गरेको छ। विद्यार्थीको शैक्षिक स्तर उकास्न नवीनतम प्रविधि, अनुसन्धानमुखी शिक्षण शैली, र अनुभवी शिक्षकमार्फत उच्च गुणस्तरको अध्ययन वातावरण प्रदान गरिने कलेज प्रशासनले जनाएको छ।