विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विराटनगरको बरगाछीस्थित होटल मनास्लु इनमा साढे ९ बजेबाट मतदान सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म १५५ मत खसेको प्रमुख निर्वाचन अधिकृत सुरेसलाल श्रेष्ठले जानकारी दिनुभयो ।
मतदानका लागि २२ वटा बुथ निर्माण गरिएका कारण एक पटकमा २२ जनाले मतदान गर्न सक्ने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले बुधबार विहान ७ बजेबाट मतदान सुरु हुने घोषणा गरेपनि साढे दुई घण्टा ढिला गरी मतदान सुरु भएको हो ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले एक पटकमा २२ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको बताए । चारवटा रंगको मतपत्र व्यवस्था गरिएको छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका छन् । दुवै प्यानलबाट मतदान स्थल बाहिर लिष्ट बाँडिएका छन् । प्यानल समर्थकहरूले आआफ्नो पक्षमा नाराबाजी समेत गरिरहेका छन् । शनिबार सुरु भएको जिल्ला अधिवेशन दुई दिन लम्बिएको हो । आज अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ ।