काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरामा केबलकार निमार्णको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
राज्यको मानवता विरुद्धको अपराध फुङलिङ काण्डको व्यानरमा नो केवुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत जनप्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले आफ्नो अनुहारमा नो केवुलकार, भुमी हमार हक भन्ने नाराहरु लेखेका थिए । नो केबलकार पक्षको समर्थनमा गएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मुक्कुमलुङलाई व्यापारीहरुको केन्द्र बनाउन खोजिएको बताए । उनले भने, ‘राज्यसत्ता आफैले नेपालको परम्परामाथि हस्तक्षेप गरिरहेको छ । मुक्कुमलुङलाई नेताहरुको साटगाठमा व्यपारीहरुको केन्द्र बनाउन खोजिएको छ । यो देश पछाडिएको कारण देश चलाउनेहरुको भष्ट्रपनले हो ।’
यस्तै प्रदर्शनकारी अर्नुप चौधरीले राज्यसत्ताले आदिवासी, उत्पीडित वर्गको अनुहार पनि हेर्न नचाहेको र आवाज पनि नसुनेको भन्दै प्रतिरोधको रुपमा अनुहारमा नो केवुलकार भन्दै लेखेको बताए ।