इन्दु साह
विराटनगर । संघीय सरकार मातहत रहेको राजमार्गको सवारी आवागमन व्यवस्थापनका लागि मोरङमा स्थानीय प्रशासनले चासो बढाएको छ । कोशी प्रदेश राजधानी, विराटनगरको रानीदेखि ढाटसम्म राजमार्गमा हुने पार्किङ व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले चासो बढाएको हो ।
राजमार्गलाई राजमार्गको रुपमा बदल्ने योजनासहित जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका भित्र पर्ने सडकको दुवै किनाराको पार्किङ रोक्ने, सवारी आवागमन व्यवस्थापनमा लेन अनुशासन पालना गराउने र जथाभावी सार्वजानिक सवारी रोक्ने कामलाई निस्तेज पार्ने योजनासहित अध्ययनका लागि समिति गठन गरिएको छ । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले विराटनगर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा सडक डिभिजनका इन्जिनियरसहित महानगर प्रहरी निरीक्षक र ट्राफिक प्रहरी निरीक्षक सदस्य रहेका छन् । यस अगाडी विराटनगर महानगरपालिकाले समेत शहरको सवारी आवागमनका लागि न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । त्यो समितिले समेत प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाएपनि राजमार्गमा सिटी सफारी निषेध गर्ने विषय कार्यन्वयन हुन सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यस अगाडी राजमार्गमा सिटी सफारी गुड्न निषेध गराउने निर्णय गरेर कार्यन्वयनमा ल्याएको थियो । तर, उक्त निर्णय कार्यन्वयनमा तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अभिषेक गिरीको सुझावका आधारमा निस्तेज पारिदिएका थिए ।
मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आएपछि राजमार्गको पार्किङ व्यवस्थापनको विषय अगाडी सरेको छ । यद्यपी अध्ययन गरेर बुझाएको प्रतिवेदन कार्यन्वयन हुनेमा भने अहिलेपनि शंका छ । अध्ययन समितिका संयोजक न्यौपानेका अनुसार यस अगाडीको समितिको प्रतिवेदनमा सिटी सफारी व्यवस्थापन गर्ने, भित्री बजार क्षेत्रका सडकमा पार्किङ निषेध गर्ने लगायतका विषयमा सुझाव दिनुपर्ने थियो । यो पटक राजमार्गमा हुने पार्किङ, सडक पेटी ढाकेर हुने व्यवसाय, सवारी मर्मत सेन्टर सञ्चालन र त्यसले पारिरहेको असर, सार्वजानिक सवारी जथाभावी रोक्ने अवस्था, लेन अनुशासन लगायतका विषयमा सुझाव दिनुपर्ने छ । यो समितिले सातदिन भित्रै सुझाव पेश गर्नुपर्ने गरी गठन गरिएको छ । संयोजक न्यौपानेका अनुसार गठनको तीनदिन बिताएको समितिले सातदिन भित्रमा प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।
महानगर क्षेत्रको कोशी राजमार्गदेखि भित्री सडकहरूमा जथाभावी सवारी पार्किङको समस्या दिनप्रतिदिन बढिरहेको छ। सिटी सफारीको चाप अधिक छ । यसको नियन्त्रण भन्दा प्रवद्र्धन भईरहेको छ । सवारीको चाप बढ्दै जाने र यसको पार्किङ व्यवस्थापन अभाव हुँदै जाने स्थितिले शहरलाई अस्तव्यस्त मात्रै नभई छलेनको सडकको प्रयोगमा समेत समस्या परिरहेको छ । कोशी राजमार्ग छ लेनको बनाएर केन्द्र भागबाट दाँयाबाँया ३/३ लेन हुँदा समेत दुवैतर्फ सवारी पार्कले साँघुरिएको छ । जसले गर्दा सवारी आवतजावतमा समेत बाधा पुग्ने गरेको छ।
महानगरका प्रमुख स्थानहरू जस्तै बरगाछी आसपासका क्षेत्र, विद्युत प्राधिकरण अगाडिको सडक, भाटभटेनी छेउ, शनिमन्दिर र महेन्द्र चौक लगायतका स्थानमा दैनिक जसो सवारी पार्क गरेर भीडभाड हुने गरेको छ । त्यस्तै, भित्री सडकका विभिन्न स्थानमा पनि दैनिक सवारी पार्किङका कारण सडक जाम हुने गरेको छ। कोशी राजमार्ग विस्तारका क्रममा बस पकेट समेत नराखी त्रुटीपूर्ण तरिकाले निर्माण गरिएको व्यवसायीहरुको समेत बुझाई छ । मोरङ जिल्ला ट्राफिक प्रहरी प्रमुख राजन लम्सालका अनुसार समितिले फागुनको अन्तिमसम्ममा पार्किङ व्यवस्थापनका लागि प्रतिवेदन तयार पार्ने र सोही कार्यन्वयनमा ल्याइनेछ ।
बुधवार मात्र मोरङ ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरेको भन्दै ५० वटा सिटी सफारीलाई नियन्त्रणमा लिएको थियो। हाल जथाभावी पार्किङका कारण सडक अस्तव्यस्त बनेको छ। व्यवसायिक तवरले पार्किङ गर्दा पनि सडकको एकतर्फ मात्र गर्नुपर्ने हो, तर विराटनगरमा बढी भीडभाड हुने सडकहरूमै दुईतर्फी पार्किङ हुने गरेको छ। यसले गर्दा पैदलयात्रीदेखि सवारी चालकहरूले समेत समस्या भोगिरहेका छन्।