विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

वार्षिकोत्सवसँगै युकेजीबाट कक्षा १ मा प्रवेश गरेका ४८ जना विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको स्कुलका प्रिन्सिपल शिव प्रसाद अधिकारीले जानकारी दिए । दिक्षित भएका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसर पारेर स्कुलले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरि सहभागी भएका प्रमुख अतिथि, अतिथि, अभिभावक र शिक्षकहरुलाई दिनभरी रमाइलो प्रदान गरे ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिव प्रसाद अधिकारीले स्थापाना कालदेखिनै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए । विद्यार्थीहरुलाई नैतिक शिक्षासँगै व्यवहारिक शिक्षा दिदै आएको उनले बताए ।

कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खड्का, विभिन्न विद्यालयहरुका प्रिन्सिपल, शिक्षकहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो ।